असार १०,सोलुखुम्बु । सोलुखुम्बु जिल्लाको महाकुलुङ गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको छ ।आइतबार बुङमा आयोजित कार्यक्रममा पालिका अध्यक्ष तथा खोप समन्वय समिति संयोजक सुर्य बहादुर कुलुङको अध्यक्षता र प्रदेश निर्देशनालय खोप अनुगमन अधिकृत श्याम भण्डारीको प्रमुख आतिथ्यतामा पूणर् खोप सुनिश्चितता पालिका घोषणा गरिएको हो ।
यस अभियानको नारा “पूर्ण खोप सुरक्षित भविष्य, स्थानीय स्वामित्व र सहभागीता, पूर्ण खोप सुनिश्चितताहाम्रो प्रतिबद्वता” रहेको थियो ।पालिकाका अन्तर्गत ५ वटा वडा भित्रका १६ देखि २३ महिना सम्मका बालबालिकाहरु मध्ये ९५ प्रतिशतले पूर्ण खोप पाएकाले पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको सामाजिक विकास तथा स्वास्थ्य शाखा प्रमुख हरिप्रसाद आर्चायले बताउनु भयो ।
नियमित खोप कार्यक्रमलाई प्रभावकारी बनाई समुदाय स्तरका सबै बालबालिकाहरुलाई नियमित रुपमा तालिका अनुसार खोप लगाउने, मासिक रुपमा खोप ल्याउन सबै सरोकारवालालाई समन्वय गरि तालिका अनुसार नै खोप लगाउने र आगामी वर्ष माघ, फागुन र चैत महिनामा घरधुरी सर्वैक्षण गरि सिङ्गो प्रदेशलाई नै पूर्ण खोप लगाएको सुनिश्चितता घोषणा लक्ष्य लिएको प्रदेश निर्देशनालय खोप अनुगमन अधिकृत श्याम भण्डारीले बताउनु भयो । उहाँले सोही योजना बमोजिम आफुहरु तिव्रताका साथ लागि परेको भनाई व्यक्त गर्नुभयो ।
कार्यक्रममा महाकुलुङ गाउँपालिकामा स्थायी बसोबास भइ खेलकुद क्षेत्र मार्फत राष्ट्रलाई योगदान दिने राष्ट्रिय फुटबल खेलाडी प्रीति राईलाई नगद रु ५० हजार सहित सम्मानपत्र , एथलेटिक्स म्याराथुन तर्फ सुमन कुलुङलाई नगद २५ हजार र सम्मानपत्र, , एथलेटिक्स म्याराथुन अल्ट्राधावक अर्जुन कुलुङलाई नगद २५ हजार र सम्मानपत्र समेत प्रदान गरिएको छ ।
कार्यक्रममा पालिका उपाध्यक्ष विपना कुलुङ, प्रमुख प्रशासकीय अधिकृत नविन कुमार गोले, वडा अध्यक्षहरु, कार्यपालिका सदस्य, वडा सदस्यहरु, स्वास्थ्य शाखा प्रमुख, जनस्वास्थ्य अधिकृत, स्वास्थ्य चौकीका प्रमुख तथा प्रतिनिधि प्रमुख, आधारभूत स्वास्थ्य सेवा केन्द्रका प्रमुख तथा प्रतिनिधि, महिला सेविकाहरु लगायतका सरोकारवालाको उपस्थिति रहेको रेडियो एभरेष्टका संवाददाता उद्धव कुलुङले जानकारी दिनुभयो ।
Discussion about this post