असार ११, साेलुखुम्बु । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा एक साताभित्रमा सार्वजनिक हुने भएको छ ।बोर्डका परीक्षा नियन्त्रक नन्दलाल पौडेलले उत्तर पुस्तिका परीक्षणबाट तयार भएको परीक्षाको प्राप्ताङ्कलाई कम्प्युटरमा प्रविष्टि गरेर रुजु गर्ने काम भइरहेको जानकारी दिनुभएकाे छ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमातहतका कर्मचारीबाट प्राप्ताङ्कलाई समेत रुजु गर्ने काम भइरहेको परीक्षा नियन्त्रक पौडेलको भनाई छ । प्राप्ताङ्क रुजु गर्ने काम ३०/४० प्रतिशत जति सकिएको छ ।यो सकिएपछि फेरि अन्तिम पटक रुजु गरिन्छ । अन्तिम रुजु पनि सकिएपछि नतिजा प्रकाशन तयारी गरिन्छ । उहाँका अनुसार असार १४ गतेसम्म नतिजा प्रकाशन गरिनेछ ।
सकेसम्म त्योभन्दा अघि नै प्रकाशन गर्ने गरी काम गरिरहेका बोर्डले जनाएकाे छ । बोर्डका अनुसार एसइईमा पाँच लाख चार हजार ४१४ जना विद्यार्थीले रजिस्ट्रेशन फाराम भरेका थिए ।
परीक्षा फाराम भरेकामध्ये चार लाख ७६ हजारले मात्रै प्रवेश पत्र लिएका थिए । प्रवेश पत्र लिएकामध्ये परीक्षामा चार लाख ७० हजारको हाराहारीमा मात्रै उपस्थिति भएको बोर्डकाे तथ्याङ्क छ ।
यस पटकदेखि परीक्षार्थीको प्राप्ताङ्कलाई आठ वटा ग्रेडमा विभाजन गरेर नतिजा प्रकाशन गरिने भएको छ । गत वर्षसम्म नौ वटा ग्रेडमा नतिजा प्रकाशन गर्ने गरिएको थियो । यस पटकदेखि परीक्षार्थीले हरेक विषयमा सैद्धान्तिकतर्फ न्यूनतम ३५ प्रतिशत र आन्तरिक मूल्याङ्कनतर्फ ४० प्रतिशत ल्याउनै पर्ने भएको छ ।
Discussion about this post