साउन ३, सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुमा ब्याडमिन्टन प्रतियोगिताको उद्घाटन गरिएको छ । जिल्लाको सोलुदुधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङ्बु शेर्पाले प्रतियोगिताको आज उद्घाटन गर्नुभएको हो । नगरपालिकाको वडा नम्बर ६ का अध्यक्ष फुर्वा ग्याल्जेन शेर्पाको सभापतित्वमा सम्पन्न उद्घाटन सत्रमा कार्यक्रमको औपचारिक उद्घाटन गरिएको हो ।
नगरप्रमुख एवं कार्यक्रमका प्रमुख अतिथि शेर्पाले उद्घाटन सत्रमा बोल्दै नगरपालिकाले खेल क्षेत्रको प्रवर्द्धनका लागी उल्लेख्य लागनी गरेको भन्दै ब्याडमिन्टन खेलको प्रवर्द्धनमा पनि नगरपालिकाले त्यसै अनुरूप काम गरेको बताउनुभयो । उहाँले खेल राष्ट्रका लागी र स्वास्थ्यका लागी दुबै हुनुका साथै आफ्नो पहिचानको लागी समेत भएको बताउनुभएको छ ।
उहाँले खेलकुदका क्षेत्रमा नगरपालिकाले वार्षिक नीति तथा कार्यक्रममा पनि विशेषगरि ब्याडमिन्टनका लागी आगामी वर्षको नीति तथा कार्यक्रममै समावेश गरेर बजेटको व्यवस्था गरेको उहाँको भनाई छ । कार्यक्रम उद्घाटनका क्रममा नगर उपप्रमुख तथा कार्यक्रमका विशेष अतिथि गान्धीमाया तामाङले खेलकुदमा नगरपालिकामा पर्याप्त सम्भावना भएको भन्दै त्यसको उजागर गर्न आफ्नो आफ्नो तवरबाट पहल गर्नुपर्नेमा जोड दिनुभयो ।
यस्तै प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले ब्याडमिन्टन खेल सबैको लागी उपयुक्त रहेको भन्दै प्रतियोगिता शान्तीपूर्ण ढङ्गबाट सम्पन्न गर्न आग्रह गर्नुभयो । यस्तै कार्यक्रममा बोल्दै उद्योग वाणिज्य सङ्घ सोलुखुम्बुका अध्यक्ष रामलाल श्रेष्ठले सङ्घले प्रतियोगिताको लागी आर्थिक सहयोग गरेको बताउनुभएको छ ।
बुधबार बाट सुरु प्रतियोगितामा जम्मा १ सय ६ टिमको सहभागिता रहेको छ । सोलुखुम्बु जिल्ला ब्याडमिन्टन सङ्घको आयोजना तथा उद्योग वाणिज्य सङ्घ सोलुखुम्बुको आर्थिक सहयोगमा जारी प्रतियोगिता शनिबार सम्म चल्ने जिल्ला ब्याडमिन्टन सङ्घ सोलुखुम्बुका सचिव अर्जुन श्रेष्ठले बताउनुभयो ।
Discussion about this post