साउन ७, सोलुखुम्बु । सोलुखुम्बुमा सुगन्धित तेल पेल्ने मेसिनका लागी १९ लाख रुपैयाँ बजेट खर्च भएको छ । जडीबुटीको पर्याप्त सम्भावना रहेको हिमाली जिल्ला सोलुखुम्बुमा गत आर्थिक वर्ष २०८०/८१ मा अनुदानमा सुगन्धित तेल पेल्ने मेसिन कार्यक्रममा १९ लाख रुपैयाँ खर्च भएको हो ।
डिभिजन वन कार्यालय सोलुखुम्बुको वार्षिक स्वीकृत कार्यक्रम मार्फत जिल्लामा उक्त रकममा ५ वटा जडिबुटी प्रसोधन केन्द्रलाई मेसिन वितरण गरिएको हो । कार्यालयले गत वर्षको कार्यक्रममा भिर कुना सामुदायिक वनलाई ४ लाख बराबरको सुगन्धित तेल पेल्ने मेसिन उपलब्ध गराएको हो ।
यस्तै फिकाम देवाकु सामुदायिक वन सोताङ ४ लाई ४ लाख ४० हजार रुपैयाँ, वाइबा जडिबुटी प्रशोधन केन्द्र, लिखुपिके जडिबुटी प्रसोधन केन्द्र र ज्वालामाई जडिबुटी प्रशोधन केन्द्रलाई प्रति केन्द्र ३ लाख ३० हजार गरि ९ लाख ९० हजार अनुदान उपलब्ध गराइएको डिभिजन वन कार्यालय सोलुखुम्बुका प्रमुख बद्रि प्रसाद शाहले बताउनुभयो ।
जडिबुटी तेलको माग उच्च रहेको र हिमाली जडिबुटी औषधीय गुणले भरिपूर्ण भएकाले यस्तो मेसिन वितरण आवश्यक रहेको उहाँको भनाई छ ।
Discussion about this post