साउन ७, सोलुखुम्बु । सोलुखुम्बुको माप्यदुधकोशी गाउँपालिकाका उपाध्यक्ष गौरव राईले पालिकाको न्यायिक समितिमा उजुरी कम आउनुमा वडामा गठित मेलमिलाप समितिको सक्रियाता रहेको बताउनुभएको छ । सोमबार रेडियो एभरेष्ट सँग कुराकानी गर्दै उपाध्यक्ष राईले यस्तो बताउनुभएको हो ।
उहाँले समाधान हुने मुद्वा वडाबाट नै टुङ्गो लगाउदै आएको बताउदै हाल वडामा गठन गरिएका मेलमिलाप समिति समेत सक्रिय रहेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो –‘वडाका समस्या सकेसम्म वडामा नै समाधान होउन् भन्नका लागि वडामा मेलमिलाप समिति गठन गरेका छौं ।
पालिकाका न्यायिक समितिमा आर्थिक वर्ष २०७९/०८० मा ११ वटा मुद्वा दर्ता भएको थियो, भने आर्थिक वर्ष २०८०/०८१ मा ४ वटा मात्र मुद्वा परेको थियो । उक्त न्यायिक समितिमा परेका उजुरीहरु प्राय : मेलमिलाप गरिसकिएको जनाइएको छ । पालिकामा आएका उजुरी मिलाउन सकेसम्म समितिबाट प्रयास हुने गरेको भन्दै उहाँले समाधान हुनै नसकेका उजुरी अदालतको प्रक्रियामा जाने बताउनुभयो ।
नेपालको संविधानको धारा २१७ मा न्यायिक समितिको व्यवस्था गरिएको छ भने स्थानीय सरकार सञ्चालन ऐन–२०७४ को दफा ४६ मा न्यायिक समितिलाई १३ प्रकारका विवाद निरूपण गर्ने अधिकार छ । सोही दफामा ११ प्रकारको विवादलाई मेलमिलापको माध्यमबाट मात्र निरूपण गर्ने अधिकार दिएको छ ।