साउन १५, सोलुखुम्बु । युएईबाट ४ घण्टा लामो हवाई यात्रापछि बिहीबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिए भुवन श्रेष्ठ । सात वर्षपछि नेपालको भूमिमा टेक्दा उनी एकाएक भावुक भए । भुईँमा घोप्टो परे, शीरले माटो छोए । सम्हालिन खोज्दाखोज्दै आँखा रसाइहाले ।
निकैबेर भक्कानिए । नयाँ जीवन पाएर देश फर्किँदाको खुसी थियो त्यो । ‘मलाई लाग्थ्यो, म कहिल्यै फर्कन पाउँदिन’, भुवनले भावुक हुँदै भने, ‘तर आज म यहाँ छु नयाँ जीवन पाएर ।’ रोजगारीको खोजीमा सन् २०१७ मा खाडी मुलुक युनाइटेड अरब इमिरेट्स (युएई) पुगेका ओखलढुंगाका २९ वर्षीय भुवन श्रेष्ठले जे भोगेर फर्किए, त्यो पुनःजन्म पाएजस्तै थियो ।
उनलाई नेपाली सहकर्मीको हत्याको आरोपमा साउदीमा मृत्युदण्डको सजाय सुनाइएको थियो । ब्लडमनीबाफत ५० लाख रुपैयाँ बुझाएपछि जेलमुक्त भएका उनी बिहीबार नेपाल आइपुगेका हुन् । त्यही अभियोगमा भुवनसँगै धादिङका पहलमान थापालाई पनि मृत्युदण्डको सजाय सुनाइएको थियो । सँगै सफाइ पाएका उनी भने केही दिनपछि मात्र स्वदेश फर्किने तयारीमा छन् ।
Discussion about this post