साउन २२, सोलुखुम्बु । कोशी प्रदेश सरकारले इर्खुवाखोला बाढीबाट मृत्यु भएका मृतक परिवारलाई राहत वितरण गरेको छ । साउन १६ गते आएको बाढीले मृत्यु भएका दुई परिवार र बाढीपीडितलाई राहत वितरण गरेको हो ।
बाढीले बगाउँदा इर्खुवाखोला जलविद्युत आयोजनामा काम गर्ने मजदुर श्यामकुमार थारू र रमेश थारूको मृत्यु भएको थियो । प्रदेश सरकारको तर्फबाट तत्काललाई मृतक परिवारलाई रु एक–एक लाख हस्तान्तरण गरिएको हो । त्यस्तै बाढीपीडित पाँच परिवारलाई चालम, दाल, तेल, नुन, कम्बल र त्रिपाल वितरण गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयकी राज्यमन्त्री सिर्जना राईले जानकारी दिइन् ।
यहाँका षडानन्द नगरपालिका र साल्पासिलिछो गाउँपालिकाका पीडित परिवारको पूर्ण विवरण आएपछि थप राहत वितरण गरिने उनको भनाइ छ । आन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लव अधिकारीसहितको टोलीले साल्पासिलिछो गाउँपालिकाको फेदी भन्ने स्थानसम्म पुगेर बाढीले पु¥याएको क्षतिको विषयमा जानकारी लिएको हो ।
कोशी प्रदेश सरकारले यथाशीघ्र क्षतिको पूर्ण विवरण मन्त्रालयमा पठाउन सम्बन्धित निकायलाई निर्देशन दिएको छ । बाढीबाट क्षतिग्रस्थ झोलुङ्गे पुल र मोटरेबल पुल पुनर्निर्माण, मर्मत तथा संरक्षणका लागि तत्काल आवश्यक पक्रिया अघि बढाउने मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बताए ।
प्रदेश सरकारले पीडित परिवारलाई सहज रूपमा घरदैलोमा पुगेर राहत वितरणका लागि मन्त्रिपरिषद्बाट निर्णय गरेर काम अघि बढाएको मुख्यमन्त्री कार्कीको भनाइ छ ।
Discussion about this post