साउन २६, साेलुखुम्बु । मेरापिक दूधकोशी दिगो विकास कोषले मेरापिक राष्ट्रिय निकुन्ज घोषणा गर्न वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीको ध्यानाकर्षण गराएको छ । कोषका अध्यक्ष उत्तमकुमार बस्नेतको नेतृत्वमा रहेको प्रतिनिधिमण्डलले शुक्रबार मन्त्री शाहीलाई मन्त्रालयमै पुगेर ध्यानाकर्षण पत्र बुझाएको छ ।
सोलुखुम्बुको महाकुलुङ, माप्य दूधकोशी र सोताङ गाउँपालिकाको वन क्षेत्रलाई समेटेर छुट्टै मेरापिक राष्ट्रिय निकुन्ज घोषणा गर्न स्थानीयबासीले माग गर्दै आएका छन् । स्थानीयवासीको मागका आधारमा हाल मकालुबरुण राष्ट्रिय निकुन्जको सोलुखुम्बु जिल्लातर्फका क्षेत्रमा अन्य केही वन क्षेत्र थप गरी मेरापिक राष्ट्रिय निकुन्ज घोषणाको लागि तयारी गरिएको थियो ।
२०७८ असोज १७ गते राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक, उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालय प्रदेश नं. १ का सचिव, प्रदेश वन निर्देशक लगायतका जनप्रतिनिधि एवं पदाधिकारीहरूको को बैठक बसी ‘मकालु बरुण राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र लगायतका पश्चिमी क्षेत्र समेतलाई विस्तार गरी घोषणा गर्न माग भएको मेरापिक राष्ट्रिय निकुञ्जको सिमाना, वस्तुगत अवस्था, व्यवस्थापन पद्धति र संस्थागत संरचनालगायतका विषय यकिन गरी प्रतिवेदन/प्रस्ताव तयार गर्ने र सो नयाँ राष्ट्रिय निकुञ्जको घोषणा कार्यको सहजीकरण गरी कार्यसूची सहितको सल्लाहकार समिति, संयोजन समिति र स्थलगत अध्ययन कार्यदल गठन गर्न वन तथा वातावरण मन्त्रालय समक्ष अनुरोध गर्ने’ निणर्य गरेको थियो ।
सोही आधारमा निणर्यका आधारमा विभिन्न चरणमा निकुन्ज घोषणाका सन्दर्भमा अध्ययन गरी प्रतिवेदन तयार पारिसकिएको छ । कानूनी हिसाबले कुनै व्यवधान नरहेको, मेरापिक राष्ट्रिय निकुन्ज घोषणाका लागि विभिन्न सरकारी निकायबाट अध्ययन गर्दा उक्त निकुन्ज घोषणाका लागि उपयुक्त हुने देखिएको कोषका अध्यक्ष बस्नेतले बताउनु भयाे । उहाँले अब निकुन्ज घोषणामा ढिलाइ नगर्न माग गर्दै मन्त्री शाहीसमक्ष आवश्यक निणर्य गराई तत्काल मेरापिक राष्ट्रिय निकुन्ज घोषणा गर्न माग गर्नु भयाे ।
ध्यानाकर्षण पत्र बुझ्दै मन्त्री शाहीले आफू मेरापिक राष्ट्रिय निकुन्ज घोषणाका लागि सरकारी निकायबाट गरिएको कार्यप्रगतिबारे जानकार रहेको भनाइ राख्नु भयाे । उहाँले आफ्नो कार्यकालमा मेरापिक राष्ट्रिय निकुन्ज घोषणा गर्ने प्रतिबद्धता जनाउनु भयाे ।
संखुवासभा र सोलुखुम्बु जिल्लालाई समेटेर वि.सं. २०४८ सालमा मकालु बरुण राष्ट्रिय निकुञ्जको घोषणा गरिएको थियो । वि.सं. २०५५ सालमा स्थानीय जनताको वन पैदावर संरक्षण तथा सहज उपभोगको निमित्त राष्ट्रिय निकुञ्ज वरपरको क्षेत्रलाई समेटी मकालु बरुण राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्रको घोषणा गरिएको थियो । मकालु बरुण राष्ट्रिय निकुञ्जमा संखुवासभा जिल्लाका भोटखोला, मकालु र सिलिचोङ गरी जम्मा ३ वटा गाउँपालिका र सोलुखुम्बु जिल्लाको महाकुङ गाउँपालिका गरी जम्मा २३३० वर्गकिलोमिटर भूभाग मध्ये १५०० वर्गकिलोमिटर राष्ट्रिय निकुञ्ज र ८३० वर्गकिलोमिटर मध्यवर्ती क्षेत्रको रुपमा समेटिएको छ ।
महाकुलुङ गाउँपालिकातर्फ मकालु बरुण राष्ट्रिय निकुञ्जको बुङ र मेरापिक गरी २ वटा सेक्टर कार्यालय र छेस्काम रेञ्जपोष्ट रहेको छ । मकालु बरुण राष्ट्रिय निकुञ्ज संखुवासभा र सोलुखुम्बु गरी २ जिल्ला समेटिएर सञ्चालन भइरहेको सन्दर्भमा २ जिल्ला बीचको अग्लो हिमाल, विकट र दुर्गम स्थान भएकाले बुङ सेक्टरबाट मकालु बरुण राष्ट्रिय निकुञ्जको प्रधान कार्यालय संखुवासभा जिल्लाको हेदाङमा पुग्न असहज मात्र नभई हिँड्ने बाटो समेत राम्रो नभएकाले करिब १ हप्ता लाग्ने गरेको छ ।
सोही कारण निकुञ्जबाट प्रवाह हुने सेवालाई प्रभावकारी बनाउन सगरमाथा राष्ट्रिय निकुञ्जले समेट्न नसकेको खुम्बुपासाङल्हमू गाउँपालिकाको तल्लो क्षेत्र अर्थात् साविकको जुभिङ र वाकु गाउँविकास समितिो केही क्षेत्र तथा मकालु बरुण राष्ट्रिय निकुञ्जको सोलुखुम्बु जिल्लाको केही भाग समेटेर अलग्गै मेरापिक राष्ट्रिय निकुञ्ज तथा संरक्षण क्षेत्र घोषणा गरी व्यवस्थापन गर्ने स्थानीयवासीले माग गर्दै आएका थिए ।
Discussion about this post