भदौ, सोलुखुम्बु । रक्षामन्त्री मानवीर राईले बाढीले बगरमा परिणत भएको पर्यटकीय थामेगाउँको पुनर्निर्माणको काम सरकारले गर्ने बताएका छन् । प्राविधिक र जिल्लाका सांसदहरुसहित शनिबार बिहान बाढी प्रभावित क्षेत्रमा पुगेका रक्षामन्त्री राईले विपद्का कारण खण्डहर बनेको ठाउँलाई दिर्घकालिन हिसाबले सुरक्षित र सुन्दर बनाउनेगरी सरकारले पुनर्निर्माण गर्ने प्रतिवद्धता जनाएका हुन् ।
मन्त्री राईले तत्काल थप अध्ययन गरेर थामेगाउँको पुनर्निर्माण र बाढी प्रभावितको पुनस्र्थापनाको ठोस् योजना बनाउन प्रमुख जिल्ला देवी पाण्डे मार्फत जिल्ला स्थित सरोकारवालालाई सुझाव दिएका छन् । काठमाडौं फर्किए लगत्तै थामेको पुनर्निर्माणका लागि पहल गर्ने आश्वासन दिँदै मन्त्री राईले प्रधानमन्त्री केपि शर्मा ओलीले समेत चासो लिएकाले मन्त्री परिषद्बाटै विशेष राहत तथा पुनस्थापनाको निर्णय गराउन आफुले सक्दो पहल गर्ने बताएका छन् ।
रक्षामन्त्री राई प्राविधिक र राहतसहित सोलुखुम्बुको बाढी प्रभावित क्षेत्र थामे गाउँमा पुगेर फर्किएका छन् । सोलुखुम्बुबाट निर्वाचित मन्त्री राई नेपाली सेनाको हेलिकप्टर मार्फत शनिवार बिहान प्रभावित क्षेत्रमा प्राविधिक, जिल्ला स्थित सरोकारवाला र राहत सामाग्री लिएर पुगेका थिए । थामे पुग्नुअघि मन्त्री राईले हेलिकोप्टर बाटै माथिल्लो टाँसिलाप्चा भन्दा माथिल्लो क्षेत्रको अवलोकन गरेका छन् ।
सोलुखुम्बुको खुम्बु पासाङल्हमु गाउँपालिका ५ थामेमा शुक्रबार दिउँसो आएको बाढीले मानविय क्षति नभएपनि करोडौंका भौतिक संरचना बगाएको छ । सुन्दर पर्यटकीय गाउँ क्षणभरमै कुरुप बनेको छ ।
यसैबीच थामेका बाढी प्रभावितलाई खुम्बु पासाङल्हमु गाउँपालिकाको तर्फबाट ५० हजार र जिल्ला विदप् व्यवस्थापन समितिले १५ हजार नगर राहत हस्तान्तरण गरिएको नेपाल पत्रकार महासंघ सोलुखुम्बुका अध्यक्ष नुतन श्रेष्ठले थामेबाट अनलाइन सरोकारलाई जानकारी दिए । थामेका बाढी प्रभावितले आगामी दिनमा समेत जोखिम हुने भएकाले सुरक्षित स्थानमा बस्ति सार्न र तत्काल आफुहरुलाई पुनस्थापना गरिदिन माग गरेका छन् ।
Discussion about this post