भदौ २, सोलुखुम्बु । मुगुको छायानाथ नगरपालिका– १० स्थित ऋणमोक्ष मन्दिर दर्शन गरी फर्कने क्रममा चट्याङले लागेर एकजना दर्शनार्थीको मृत्यु भएको छ । चट्याङबाट दुईजना घाइते भएका छन् । मृत्यु हुनेमा पातारासी गाउँपालिका– ४ का ४० वर्षीय पुरुष रहेको विपद व्यवस्थापन प्राधिकरणले जनाएको छ । मन्दिरबाट फर्कँदै गरेका अर्का ३१ वर्षीय पुरुष र ५० वर्षकी महिला घाइते भएका छन् ।
त्यस्तै रोल्पा नगरपालिका– ९, ह्वामे बस्ने ५५ वर्षका पुरुष र ५० वर्षकी महिला सुतिरहेको ठाउँमा राति चट्याङ पर्दा दुबै घाइते भएका छन् । चट्याङलाई मनसुनजन्य घटनाका रुपमा लिइन्छ । पछिल्लो समय चट्याङबाट मृत्यु हुनेको संख्या अत्यधीक बढ्दै गएको छ । गत जेठ २८ देखि असार २५ सम्म एक महिनाको अवधिमा देशभरिमा मानवीय क्षति हुने गरी ९४ वटा चट्याङका घटना भएका छन् ।
एक महिनाको अवधिमा चट्याङबाट १९ जनाको मृत्यु भएको छ भने ३५ जना घाइते भएका छन् । चट्याङबाट सम्पत्तिमा क्षति हुनेसमेत प्रभावित परिवारको संख्या एक सय रहेको छ । जेठयताको तीन महिनामा मात्रै चट्याङ लागेर २४ जनाको मृत्यु भएसकेको छ भने ५५ जना घाइते भएका छन् ।
Discussion about this post