साउन ३, सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुका विभिन्न देवालय तथा शिवालयहरूमा जनैपूर्णिमा मेला भव्य रुपमा लागीरहेको छ । हिन्दु धर्मावलम्बी एवं अन्य धर्मावलम्बीहरूले ऋषि पञ्चमी अर्थात जनै पूर्णिमा विशेष महत्वका साथ मनाएका छन् ।
आजको दिन दिदि बहिनीबाट रक्षा बन्धन तथा मान्यजनबाट जनै धारण गर्ने परम्परा रहिआएको छ । यसका अलावा हिन्दु धर्मावलम्बीहरूको आस्थाको केन्द्र रहेका शक्तीपिठहरुमा बृहत मेला सहित शुभकामना आदानप्रदान र सद्भाव साटासाट समेत भएको छ । वर्षको एक दिन मात्रै मेला लाग्ने जिल्लाका विभिन्न धार्मिक केन्द्रहरुमा आज भव्य मेला लगीरहेको छ । जिल्लाको प्रसिद्ध धार्मिक केन्द्र दूधकुण्ड पोखरीमा आज विभिन्न स्थानबाट भक्तजनहरू गएर पूजाआजा सहित स्नान गरेका छन । यस्तै जिल्लाकै पर्यटकीय सम्भावना बोकेको पत्ताले नजिकै रहेको चागेँस्थान मन्दिरमा समेत भव्य मेला लागेको छ । मेलामा झण्डै १० हजार भक्तजनहरूले दर्शन गरेको चागेँस्थान मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।
उक्त मन्दिरको दर्शन गर्न जिल्ला भित्र तथा बाहिरबाट आन्तरिक तथा बाह्य पर्यटक एवं दर्शनार्थीहरूको बाक्लो उपस्थिति रहेको थियो । यस्तै जिल्लाकै सोलुदधकुण्ड नगरपालिका वडा नम्ब ११ तिङ्ला स्थित सिंहकाली मन्दिरमा पनि भव्य मेला लागेको छ । उक्त मन्दिरमा करिव ५ सय भक्तजनहरू आएर दर्शन गरेको मन्दिर व्यवस्थापन समितिका सचिव रामचन्द्र कार्कीले बताउनुभयो । पहिलो पटक मेलाको आयोजना गरिएको मन्दिरमा उत्साहजनक सहभागिता सहित भक्तजनहरूको उपस्थीति रहेको उहाँको भनाई छ ।
यस्तै सानो दुधकुण्ड भनेर चिनिने सोलुदुकुण्ड नगरपालिका ४ स्थीत सतीदेवीको मन्दिरमा पनि भव्य मेला लागेको छ । मन्दिरमा सोमबार बिहान ३ ः ३० देखिनै दर्शनार्थीको घुइँचो लागेको थियो । मेला लागेका स्थानहरूमा सोलुखुम्बुका उच्च पदस्थ सरकारी अधिकारीहरूले अवलोकन तथा भ्रमण गरेका छन् । प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्री, प्रहरी नायब उपरीक्षक द्वारीका प्रसाद घिमिरे लगायतको टोलीले चाँगेस्थान मन्दिर तथा अन्य धार्मिक तथा पर्यटकीय क्षेत्रमा लागेको मेलाको अवलोकन गर्नुभएको थियो ।
Discussion about this post