भदौ ४, सोलुखुम्बु । किरात राई वाम्बुले समुदायले आफ्नो महान् चाड ढ्वाङकुम भव्यताका साथ मनाएका छन् । हरेक वर्ष जनैपूर्णीको दिन मनाइने ढ्वाङकुम चाँड वाम्बुले राईहरूको बाहुल्यता भएको गाउँहरूमा भव्यताका साथ मनाएका हुन् ।
ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिकाको उँबु, उदयपुर, वाक्सा लगायतका क्षेत्रका वाम्बुले राईहरूले नयाँ अन्नबाली पितृ पुर्खा लिब्जु बाजेलाई चढाउँदै ढ्वाङकुम मनाउने गर्छन्। उभौलीपर्वको समापनका रूपमा पनि ढ्वाङकुम पर्वलाई लिने गरिन्छ ।
वाम्बुलेहरुको उद्गम थलो मानिने मानेभन्ज्याङ गाउँपालिका–३ उँबुको ढ्वाङकुमटारमा सामूहिक रूपमा लिब्जुको पूजाआजा गर्दै सामूहिक रूपमा यो पर्व मनाउने चलन छ । पछि यो समुदायको जनसङ्ख्या वृद्धि र बसाइसराइसँगै विभिन्न जिल्लामा मनाउने गरिएको छ ।
उदयपुर, सुनसरी, मोरङ, ललितपुरको सानो हात्तीवन लगायत जिल्लामा वाम्बुले समुदायले सामूहिक रूपमा पूजाआजा गर्दै नाचगान गरेर यो पर्व मनाएका छन् ।
प्रकृति पूजक वाम्बुलेहरुले पूजास्थलमा नयाँ अन्नबाली चढाउनाका साथै कागुनीको भात, कोदोको जाँड र राँगा भैँसीको मासु थुन्सेमा लगेर सामूहिक रूपमा पूजा गर्ने चलन रहेको राज्य लक्ष्मी माध्यमिक विद्यालय मानेभञ्ज्याङ गाउँपालिका–३ का स्थानीय माहाजित राईले बताउनुभयो ।
Discussion about this post