भदौ १५, सोलुखुम्बु । ओखलढुङ्गाको खिजीदेम्बा गाउँपालिकाले फिल सगरमाथा आरोहीहरू लाई सम्मान गर्ने भएको छ । गाउँपालिकाबाट विभिन्न समयमा सगरमाथाको सफल आरोहण गर्ने ४६ जना आरोहीलाई काठमाण्डौमा शनिबार सम्मान गरिने भएको हो ।
गाउँपालिकाले जिल्लाकै सबैभन्दा बढी सगरमाथा आरोहण गर्ने जाङबु शेर्पा सहित गाउँपालिकाकै पहिलो महिला सगरमाथा आरोही माया शेर्पा, कम उमेरका सगरमाथा आरोही जम्बले शेर्पा लगायत अन्य गरि ४६ जनाई सम्मान गर्न लागिएको हो । खिजिदेम्बालाई पर्यटनमय गाउँपालिका बनाउने उद्देश्य अनुरूप सगरमाथाको सफल आरोहण गर्ने किर्तिमानी आरोहीलाई सम्मान गर्न लागिएको गाउँपालिका अध्यक्ष गम्बु शेर्पाले बताउनुभयो ।
गाउँपालिकाले आर्थिक वर्ष २०८०/८१ को वार्षिक बजेटमा व्यवस्था गरेर आरोहीहरूको सम्मानका लागी बजेटनै छुट्याएर सम्मान गर्न लागेको हो । आरोहीहरूको सम्मानका लागी गाउँपालिकाले २ लाख रुपैयाँ बजेट विनियोजन गरेको अध्यक्ष शेर्पाले बताउनुभएको छ । सबै आरोहीलाई गाउँपालिका सम्म आउन भौगोलिक एवं वर्षातका कारण कठिनाइ हुने भएपछि काठमाण्डौमै गाउँपालिका पुगेर सम्मान गर्न लागिएको उहाँको भनाई छ ।
यस्तै शनिबारनै खिजिदेम्बा गाउँपालिकाको पर्यटन सद्भावना दुत समेत घोषणा गरिने भएको छ । गाउँपालिकाको लोगो सगरमाथाको शिखरमा पु¥याउने कुङ्गा शेर्पालाई गाउँपालिकाको पर्यटन सद्भावना दुत घोषणा गरिने गाउँपालिकाले जनाएको छ । कार्यक्रममा नेपाल सरकारका संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री बद्रि पाण्डे सहित जिल्लाका सांसद, प्रदेश सांसद, पर्यटन क्षेत्र सँग आवद्ध सम्पूर्ण व्यक्तिहरूको उपस्थिति रहने गाउँपालिका अध्यक्ष शेर्पाले बताउनुभयो । कार्यक्रम काठमाण्डौको बौद्ध स्थित ज्योति पार्टी प्यालेसमा हुने छ ।
Discussion about this post