भदौ १९, सोलुखुम्बु । विद्यार्थीलाई खोला तरेर विद्यालय जान समस्या भएको भन्दै खोटाङको साकेला गाउँपालिका–३ खिदिमाका स्थानीयले श्रमदानमार्फत काठेपुल निर्माण गरेका छन् । खिदिमास्थित मखमले र तावाभञ्ज्याङका ४२ जना स्थानीयले लगातार चार दिन श्रमदान गरेर बोराखोलामा करिब १२ मिटर लम्बाइको काठेपुल निर्माण गरेका हुन् ।
साविकको बोरा टोलबाट मखमले जोड्ने बोराखोलामा करिब दुई लाख ४५ हजार लाग्ने काठेपुल निर्माण गरी मंगलबारदेखि सञ्चालनमा ल्याइएको टोल विकास समितिका अध्यक्ष नैनबहादुर खत्रीले जानकारी दिनुभयो । बर्षातको समयमा खोलामा आउने बाढीले विद्यार्थी तथा स्थानीयलाई आवत–जावतमा हुँदै आएको समस्या समाधानका लागि श्रमदानमार्फत काठेपुल निर्माण गरिएको हो । बालबालिकाको अध्ययन गर्न पाउने नैसर्गिक अधिकारलाई लक्षित गर्दै श्रमदानमार्फत बोराखोलामा काठेपुल निर्माण गरेर सञ्चालनमा ल्याएको भनाई छ ।
Discussion about this post