भदौ २३, सोलुखुम्बु । लिखुपिके गाउँपालिकाकी अध्यक्ष मिना कार्की बस्नेतले वन तथा वातावरण मन्त्री ऐन बहादुर शाहीसँग भेट गर्नुभएको छ । गाउँपालिकामा सञ्चालित एमभि दुगड हाइड्रो पावरले राजस्व रकमान्तर गरि सम्बन्धित निकायमा नबुझाएर अन्यत्र बुझाएको विषय सहित अन्य विभिन्न वन सम्बन्धित विषयमा मन्त्री शाहीलाई भेटेर जानकारी गराउनुभएको हो ।
आइतबार मन्त्रालय पुगेर अध्यक्ष बस्नेतले हाइड्रो पावरले वन प्रयोग सम्बन्धी रोयल्टी डिभिजन वन कार्यालयमा बुझाएको विषयमा मन्त्री शाहीको ध्यानाकर्षण गराउँदै उक्त कार्य नियमसङ्गत भएनभएको जानकारी लिनुभएको उहाँको सचिवालयले जनाएको छ ।
स्थानीय सरकारले प्राप्त गर्नुपर्ने रोयल्टी प्रदेश सरकार मातहतका कार्यालयमा दाखिला गरेपछि उक्त विषयलाई मन्त्री मार्फत डिभिजन वन कार्यालय सोलुखुम्बुमा मौखिक जानकारी समेत लिइएको छ । नियमविपरीत राजस्व दाखिला गरेपछि उक्त रकम फिर्ता गराउन डिभिजन वन कार्यालयलाई पत्र लेखिएको समेत उहाँले जानकारी दिनुभयो । दुगड हाइड्रो पावरले १० लाख रुपैयाँ राजस्व डिभिजन वन कार्यालय सोलुखुम्बुमा दाखिला गरिएको जानकारी गराएको थियो ।
Discussion about this post