असोज १८, सोलुखुम्बु ः सहयोगी हातहरुको समूह(सहास) नेपालले जिल्लाको थुलुङ दुधकोशी गाउँपालिकामा शिक्षा परियोजना सञ्चालन गर्ने भएको छ । परियोजना सञ्चालनको लागि पेज वानले संभाव्यता अध्ययन गरेको थियो । शुक्रबार गाउँपालिकामा प्रस्तुत गरिएको उक्त अध्ययन प्रतिवेदन माथी सुझाव संकलन गर्ने कार्य समेत सम्पन्न भएको छ । उक्त प्रतिवेदनमा गाउँपालिका भित्रको शिक्षाको वर्तमान अवस्था, चुनौती, समस्या भएका सकारात्मक कार्य सहित आगामी दिनमा गर्नुपर्ने कार्यक्रम समेटिएको गाउँपालिका प्रवक्ता भोजराज कार्कीले जानकारी दिनुभयो ।
पालिका अध्यक्ष असिम राईको अध्यक्षतामा भएको उक्त कार्यक्रममा पालिका उपाध्यक्ष सविता राई सहित वडा अध्यक्ष, कार्यपालिका सदस्य, शिक्षा शाखा, सहास नेपालका कर्मचारी सहित सरोकारवालाको उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष असिम राईले पालिकाले शिक्षा क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको स्मरण गराउदै पालिकाले शैक्षिक अभिवृद्धिका लागि लिएको उदेश्य पूरा गर्न सहास नेपालको कार्यक्रम कोशेढुङ्गा सावित हुने विश्वास व्यक्त गर्नुभयो । आफुहरु निर्वाचित भएदेखिनै शैक्षिक सुधारका लागि शैक्षिक सम्मेलन देखि १६ बुदे श्वेतपत्र जारी गर्ने लगायतको कयौं काम गरिएको अध्यक्ष राईको भनाई छ ।
Discussion about this post