कात्तिक २, सोलुखुम्बु । गत असोज १० देखी १२ गते सम्म आएको बाढी/पहिरो पछि प्रभावित बनेका सोलुखुम्बुका ३ स्थानीय तहलाई विपद सङ्कटग्रस्त पालिका घोषणा गरिएको छ । शुक्रबार बसेको राष्ट्रिय विपद जोखिम न्यूनिकरण प्राधिकरणको बैठकले जिल्लाका ३ स्थानीय तहलाई विपद सङ्कटग्रस्त पालिका घोषणा गरि राहत उपलब्ध गराउने निर्णय भएको हो ।
राष्ट्रिय विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन परिषदका कार्यकारी अध्यक्ष एवं गृहमन्त्री रमेश लेखक अध्यक्षतामा शुक्रबार बसेको बैठकले जिल्लाको खुम्बु पासाङ ल्हामु गाउँपालिका, सोलुदुधकुण्ड नगरपालिका र माप्य दुधकोशी गाउँपालिकालाई विपद सङ्कटग्रस्त पालिका घोषणा गर्ने निर्णय गरेको छ ।
खुम्बु पासाङ ल्हामु गाउँपालिकामा साउन ३२ गते हिमताल फुटेर आएको बाढीले निम्त्याएको विपत्ति, माप्यमा सोही बाढीले मुख्य पुलमा पु¥याएको क्षति र सोलुदुधकुण्ड नगरपालिकामा बाढी पहिरो बाट ५ जनाको ज्यान जानुका साथै राजमार्गनै पहिरोको जोखिममा परेकाले यि पालिकालाई विपद सङ्कटग्रस्त पालिका घोषणा गरिएको हो ।
सरकारले विपद सङ्कटग्रस्त पालिका घोषणा गरेका यि तिन पालिकालाई ५०/५० लाख रुपैयाँका दरले राहत रकम उपलब्ध गराउने निर्णय शुक्रबार गरेको छ । सरकारले सोलुखम्बुका ३ सहित देशभरका ७१ पालिकालाई विपद सङ्कटग्रस्त पालिकाको रुपमा घोषणा गरि गत असोज २१ गते राजपत्रमा प्रकाशन गरेको छ ।
Discussion about this post