कार्तिक २१, सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुको सदरमुकाम सल्लेरी स्थित थेक्छेन पेमा छोलिङ गोन्पामा सम्यक संवुद्ध भगवान शाक्यमुनी बुद्धको पवित्र अस्तुधातु स्थापना गरिने भएको छ । यही कात्तिक २८ गते बुधवार बिहान १०ः३० बजे एक भव्य कार्यक्रमका बीच यो पवित्र अस्तुधातुको स्थापना गरिने भएको हो ।
परमपावन साङ्साङ टुल्कु रिन्पोछे र सेर्लो टुल्कु पेमा थार्चेन रिन्पोछेको विशेष उपस्थितिमा हुने यस कार्यक्रममा धार्मिक पूजा आजाका साथै अस्तुधातुको स्वागत गरिने आयोजकले जनाएको छ । सल्लेरी बजारबाट नगरपालिकाको कार्यालय हुँदै गोन्पा परिसरसम्म अस्तुधातुलाई ल्याइने गुम्बा ब्यबस्थापन समितिका अध्यक्ष तेन्जी शेर्पाले जानकारी दिनुभयो ।
उहाँका अनुसार गोन्पामा पुगेपछि परमपावन साङ्सा ङ रिन्पोछे तथा ट्रुल्कु पेमा थार्चेन रिन्पोछेले विशेष पूजा आजा गरिनुका साथै अस्तुधातुलाई स्थापना गरी सर्वसाधारण भक्तजनहरूको लागि दर्शनको व्यवस्था मिलाइने बताइएका छ ।
बुद्धको पवित्र अस्तुधातुलाई सदाको लागि गोन्पामा राखी श्रद्धालु भक्तजनहरूले दर्शन गर्न पाउने भएपछि यस क्षेत्रका बासिन्दामा खुसियाली छाएको छ ।
Discussion about this post