मंसिर १०, सोलुखुम्बु । सोलुखम्बुको थुलुङ दुधकोशी गाउँपालिकामा ३ दिने शिक्षकको पेशागत विकास तालिम सुरु गरिएको छ । सोमबारबाट थुलुङ दुधकोशी गाउँपालिका र रीड नेपालको संयुक्त आयोजनामा शिक्षकको पेशागत विकास तालिम सुरु गरिएको हो । विज्ञान सामाजिक र प्रविधिलाई जोड दिएर तालिम सहजीकरण गर्ने रीड नेपालले जनाएको छ ।
तालिम उद्घाटन गर्दै गाउँपालिकाका अध्यक्ष असिम राईले हतियारमा बेला बेला धार लगाए जस्तै शिक्षकको पेशागत विकास र शिक्षण सिकाइ क्रियाकलापमा परिवेश अनुसार निखारता ल्याउन समय समयमा तालिम आवश्यक पर्ने बताउनुभयो । पछिल्लो समय आफ्नो सम्पूर्ण ध्यान शिक्षामा केन्द्रित रहेको भन्दै शिक्षकहरुलाई आफ्नो पेशा प्रति बफादार भएर काम गर्न निर्देशन दिनुभयो ।
पहिलेको तुलनामा पालिकाको शैक्षिक सुधार हुदै गएको र सिकाइ उपलब्धीमा पनि वृद्धि भैरहेकोले यसलाई अझै कायम राख्नुपर्ने बताउदै शिक्षकहरुलाई धन्यवाद दिनुभयो । कार्यक्रममा सहभागीलाई स्वागत गर्दै प्रमुख प्रशासकीय अधिकृत प्रसन्न दीपराईले तालिमले पेशागत विकास हुने विश्वास व्यक्त गर्दै सक्रिय भएर सिक्नका लागि अनुरोध गर्नुभयो ।
रीड नेपाललाई सहकार्यका लागि धन्यवाद दिदै रीड नेपालको योगदानको प्रसंशा समेत गर्नुभयो । तालिम कार्यक्रमको उद्देश्य बारे प्रस्ट पार्दै रीड नेपालका शिक्षा विकास संयोजक केशव देव गिरीले अन्य विषयको तुलनामा अंग्रेजी गणित विज्ञान विषयको सिकाइ उपलब्धी कम भएकोले तालिमको आयोजना गरिएको र यस तालिमको माध्यमबाट बालबालिकाको उक्त विषयको सिकाइ उपलब्धीमा वृद्धि हुने अपेक्षा रहेको बताउनुभयो ।
तालिममा पालिका भित्रका ९२ जना शिक्षकहरुको सहभागिता रहेको छ । तालिमको सहजीकरण रीड नेपालका विषय विज्ञहरु अर्पण रेग्मी, अभिषेक विक्रम शाह, बासु वाग्ले, राजीव ढुंगाना, सुजाता राईले गरिरहनुभएको रीड नेपालले जानएको छ ।
Discussion about this post