मंसिर १३, सोलुखुम्बु । यार्सागुम्बा भन्दै नक्कली औषधि बेच्ने ओखलढुङ्गाका घिमिरे सहित ३ जना पक्राउ परेका छन् । यार्सागुम्बाका नाममा नक्कली औषधि उत्पादन तथा बिक्री/वितरण गरी ठगी गर्ने ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका–७ घर भई काठमाण्डौको बूढानीलकण्ठ नगरपालिका–११ बस्ने ४२ वर्षीय डिल्लीप्रसाद घिमिरे सहित ३ जना पक्राउ परेका हुन् ।
यस्तै रामेछापको दोरम्बा गाउँपालिका–२ घर भई काठमाण्डौको कागेश्वर मनोहरा नगरपालिका–२६ बस्ने ३४ वर्षीय सुजन गौतम, काभ्रेको नमोबुद्ध नगरपालिका–२ घर भई भक्तपुरको सूर्यविनायक नगरपालिका–४ बस्ने २७ वर्षीय सुजन खड्का पक्राउ परेका छन् । यार्सागुम्बा, सताबरी, अश्वगन्ध, सिलाजितजस्ता जडीबुटीको मिश्रणबाट तयार पारिएको यौन क्षमता बढाउने, शक्ति बढाउने हिमाली जडीबुटी भनेर ठगी गर्ने तीन जनालाई पक्राउ गरेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले जनाएको छ ।
उनीहरूले हिमाली जडीबुटी भन्दै विभिन्न नाम दिएर सामाजिक सञ्जालमार्फत विज्ञापन गरी वृद्धदेखि युवासमेतले खान मिल्ने, कुनै असर नभएको, डाक्टरको सिफारिश नचाहिने भनी सर्वसाधारणमा भ्रम सिर्जना गरी एक बट्टाको दुई हजारदेखि दुई हजार पाँच सय रुपैयाँसम्ममा बिक्री गरेका सीआईबीका प्रहरी प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले बताउनुभयो ।
Discussion about this post