मंसिर १७, सोलुखुम्बु । सोलुखुम्बुको नेचासल्यान गाउँपालिका वडा नम्बर ५ सिताम्दु स्थित भुमेस्थान आधारभूत विद्यालयमा ३ लाख रुपैयाँ बराबरको अक्षयकोष स्थापना गरिएको छ। गाउँपालिकाको वडा नम्बर ५ निवासी स्वर्गीय रन्जे लामा राईका छोराछोरीहरूले बुबाको सम्झनामा विद्यालयमा ३ लाख रुपैयाँ बराबरको अक्षयकोषको स्थापना गर्नुभएको सहकर्मी धनकुमार ढुङ्गेलले जानकारी दिनुभयो ।
आइतबार विद्यालयमा आयोजित एक औपचारिक कार्यक्रममा गाउँपालिका अध्यक्ष धनजन राईको प्रमुख आतिथ्यता एवं उपाध्यक्ष विना राईको विशिष्ट आतिथ्यतामा अक्षयकोष दाताहरूलाई प्रमाणपत्र समेत प्रदान गरिएको सहकर्मी ढुङ्गेलले बताउनुभयो ।
यस्तै सोही अवसरमा विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई विद्यालय पोशाकका ट्रयाकसुट वितरण गरिएको छ । करिव ८० हजार रुपैयाँ मूल्य बराबरको पोशाक आइतबार नै हस्तान्तरण गरिएको जनाइएको छ । जाडो समयमा विद्यार्थीहरूलाई पठनपाठनमा सहजता हुने अपेक्षाले ट्रयाक सुटका पोशाक समेत खरिद गरि वितरण गरिएको हो ।
Discussion about this post