मंसिर १७, सोलुुखुम्बु । सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकाले एक सूचना जारी गर्दै हिमपात र चिसोबाट जोगिन सर्व साधारणलाई आग्रह गरेको छ । जाडोको समय शुरु भएको र निरन्तर जाडो बढ्दै गएको भन्दै गाउँपालिकाले हिमपात र चिसोबाट जोगिन आग्रह गरेको हो ।
“गाउँपालिकाको वडा नम्बर १, ५, ६, ७, र ९ मा हिमपात हुन सक्ने स्थानहरुमा अत्याधिक चिसो बढ्न गई सर्वसाधारण नागरिकहरुको दैनिक जीवनयापन कठिन हुन सक्ने तथा सम्भावित हिमपात एवं अत्याधिक चिसोबाट बच्न थुलुङ दुधकोशी गाउँपालिका सोलुखुम्बुद्धारा सर्वसाधारणको हकहितमा जारी गरिएको अनुरोध । ” भनिएको छ ।
कार्यालयले हिमपात र चिसोबाट जोगिन समयमा नै न्यानो कपडाको जोहो गर्न पनि भनेको छ । हिमपात र अत्याधिक चिसो भएको समयमा घर बाहिर लामो समयसम्म नबस्न र रातको समयमा न्यानो कपडा, सिरक, कम्मल जस्ता कपडाहरु ओड्न पनि आग्रह गरेको छ ।
हिउँ परेको तथा त्यस पछिको समयमा चिसो बढ्ने हुनाले आगो तापेर शरीरलाई न्यानो राख्न, आवश्यक खानेकुरा र पर्याप्त मात्रामा तातो झोलिलो खाने कुरा खान पनि आग्रह गरेको छ । यस्ता बेला बालबालिका, बृद्वबृद्वा, गर्भवती महिला तथा बिरामीहरु बढी प्रभावित हुने भन्दै पालिकाले त्यस्ता ब्यक्तिको हेरचाहमा विशेष सतर्कता अपनाउन समेत भनेको छ ।
चिसोका बेला पशु चौपायाहरु समेत प्रभावित हुने भन्दै हिमपात र अत्याधिक चिसोको बेला पशुपंक्षीहरुलाई चराउन नलैजान र पशुपंक्षीलाई गोठ र टहरामा नै प्रर्याप्त घाँस, पराल र खानाको ब्यवस्था मिलान समेत भनेको छ ।
Discussion about this post