मंसिर १८, सोलुखुम्बु । सोलुुखुम्बुको नेचासल्यान गाउँपालिकामा विभिन्न कार्यक्रम गरी ३३ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाइएको छ । ‘समावेशी तथा दिगो भविष्यको पूर्वधार अपांगता भएका व्यक्तिहरुको प्रवल नेतृत्व यसको आधार’ मूल नारासहित यस वर्षको अपाङ्गता दिवस मनाइएको हो ।
करुणा फाउण्डेशन नेपाल र अपाङ्गता रोकथाम तथा पुन : स्थापना कार्याक्रमको समन्वय, नेचासल्यानको आयोजनामा दिवस मनाइएको नेचाबाट सहकर्मी सुजन दाहालले जानकारी दिनुभयो । कार्यक्रममा बोल्ने वक्ताहरुले संविधान र दिगो विकासका लक्ष्य कार्यान्वयनमा अपाङ्गताको विषयलाई विशेष व्यवस्थासहित अघि बढाउनुपर्ने आवश्यकता औँल्याएका छन् ।
नेपालको संविधान, मौलिक हक, अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय महासन्धि, अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन लगायतको प्रभावकारी कार्यान्वयनबाट मात्रै अपाङ्गता भएका व्यक्तिको जीवनस्तर सुधार हुनसक्ने बताएका छन् । दिवसको अवसरमा गाउँपालिकाका अध्यक्ष धनजन राईले शुभकामना दिदै पालिका भित्रका सम्पूर्ण स्वास्थ्य शाखाका कर्मचारीहरुले घुम्ती शिविर सञ्चालन गरेको बताउनुभयो ।
यस्तै पहिचान भएको व्यक्तिहरुलाई ह्रिल चियर, अपाङ्गता भएका व्यक्तिलाई अपाङ्गमैत्री शैचालय, विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गर्नुभएको छ । यस दिवसको अवसरमा प्रदान गरिएको सामाग्रीले केहि मात्रामा राहत मिल्ने उल्लेद गर्नुभएको छ । यस्तै गाउँपालिकाकी उपाध्यक्ष विना राईले नेपाल सरकार तथा स्थानीय सरकारले अपाङ्गता भएका व्यक्तिहरुलाई विभिन्न वर्गमा छुटाएर सेवा दिइरहेको बताउनुभएको छ ।
पालिका भित्र रहेका अपाङगता भएका व्यक्तिहरुलाई आगामी दिनहरुमा जिवनयापन गर्न थप सहज हुने अपेक्षा सहित उक्त सामाग्री वितरण गरिएको बताउनुभयो । अपाङ्गता दिवस बर्षमा एकचोटी मात्र नभई उनीहरुका लागि सदैव सम्मान व्यवहार गर्ने प्रमुख प्रशासकिय अधिकृत विशाल घिमिरेले बताउनुभयो । दिवसको अवसरमा विविध आवश्यक सामाग्री पाए पश्चात अपाङ्गता भएको व्यक्तिहरु समेत खुसी देखिएका छन् ।
Discussion about this post