पौष २१, सोलुखुम्बु । नेपालकै इतिहासमा पहिलोपटक खोटाङको दिक्तेल बजारमा ‘जहाँ बाँस त्यहाँ जीवन, जहाँ जीवन त्यहाँ बाँस’ भन्ने मूल नाराका साथ ‘राष्ट्रिय बाँस सम्मेलन–२०८१’ आयोजना गरिँदै छ । नेपालमा खेर गइरहेका बाँसलाई उपयोगमा ल्याएर रोजगारी सिर्जना गर्ने उद्देश्यले बाँसको उपयोगिता, सम्भाव्यता, प्रभावकारिता र बजारीकरणका लागि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले माटिकोरे खेल मैदानमा फागुन १५, १६ र १७ गते बाँस सम्मेलन आयोजना गर्न लागेको हो ।
नेपालमा आन्तरिक उत्पादनभन्दा आयातित सामग्रीको प्रयोग बढ्दो छ । वन मन्त्रालय अन्तर्गतका विभिन्न निकायमा मात्रै पनि बाँसबाट बनेका सामग्री एवं फर्निचर प्रयोग गर्ने हो भने धेरै कृषकको आम्दानीका स्रोत बन्ने नगर प्रमुख तीर्थराज भट्टराईले बताउनुभयो । बाँसको महत्व, धार्मिक, सांस्कृतिक हिसाबले यसको उपयोगिता लगायतका विषयमा आमनागरिकलाई सूचित गराई बाँसबाट आर्थिक उन्नति गर्न सकिन्छ भनी राज्यलाई झक्झक्याउन इतिहासमै पहिलोपटक बाँस सम्मेलन आयोजना गर्न लागिएको नगरप्रमुख भट्टराईले उल्लेख गर्नुभयो ।
नगर प्रमुख भट्टराईका अनुसार देश÷विदेशका बाँस विज्ञ तथा व्यवसायी सहभागी हुने सम्मेलनलाई प्रभावकारी बनाउन प्रदेशस्तरीय कार्यक्रम पनि गरिएको छ । सातवटै प्रदेशका बाँसबाट हस्तकला निर्माण गर्ने, फर्निचर बनाउने, बाँसका विज्ञ, बाँसको क्षेत्रमा काम गरिरहेका व्यापारी, व्यवसायी र काम गर्ने बाँसकर्मीहरुलाई स्टल निःशुल्क गराउने व्यवस्था गरिएको छ । प्रदेशस्तरीय कार्यक्रम गरी सरोकारवाला, सरकारी तथा गैरसरकारी निकाय, शैक्षिक सङ्घसंस्था तथा को सल्लाह, सुझाव र चुनौती बटुलेर सम्मेलनका लागि योजना समेत बनाइँदै छ ।
Discussion about this post