पौष २२, सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुमा ५ हजार बढी छात्रालाई क्यान्सर विरूद्धको एचपिभी ह्युमन प्यापीलोमा भाईरस विरूद्धको खोप लगाइने भएको छ । आउँदो माघ २२ गते देखि सुरु हुने देशव्यापी अभियान अन्तर्गत जिल्लाका ५ हजार ७ सय छात्राहरुलाई क्यान्सर विरुद्धको खोप लगाइने भएको हो । देशव्यापी रुपमा कक्षा ६ देखि १० सम्म अध्यन गर्ने छात्रालाई पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप लगाइने जिल्ला स्वास्थ्य कार्यालय सोलुखुम्बुका सूचना अधिकारी राम नारायण शाहले जानकारी दिनुभयो ।
उहाँका अनुसार जिल्लामा खोप नलगाएका सम्पुर्ण किशोरीलाई लक्षित गरि माघ २२ गते देखि एक हप्ता सम्म अभियानको रुपमानै खोप संचालन गरिने भएको हो । खोप केन्द्र विद्यालयहरुमा नै सञ्चालन हुने र अभियानको अन्तिम दिन स्वास्थ्य संस्थाबाट खोप उपलब्ध गराइने स्वास्थ्य कार्यालय प्रमुख सुमन तिवारीले बताउनुभयो ।
विद्यालय बाहिर रहेका १० वर्ष देखि १४ वर्ष उमेर समूहका किशोरीलाई समेत समुदायमा नै पुगी खोप लगाईने भएको छ । पाठेघरको क्यान्सर सानै उमेरमा बच्चा जन्माउदा, सुत्केरी अवस्थामा पोषीलो खानाको कमी र स्वस्थ्य सरसफाईको कमीले इन्फेक्सन भएर लाग्न सक्ने स्वस्थ्य कार्यालयले जनाएको छ । नेपाल सरकारले विश्व स्वास्थ्य सङ्गठन डब्लुएचओबाट प्रमाणित उक्त खोप किशोरीलाई एचपिभीको सङ्क्रमणबाट सुरक्षित हुन अभियान सञ्चालन गर्न लागेको हो ।
Discussion about this post