पौष २३, सोलुखुम्बु । सोलुखुम्बुको माथिल्लो क्षेत्रमा हिमपात भएको छ । आज दिउँसोबाट खुम्बु क्षेत्रमा हिमपात भएको हो । देशका अन्य भूभागमा अघिल्लो सातादेखि नै वर्षा तथा हिमपात सुरु भए पनि जिल्लामा भने मंगलबार वर्षासहितको हिमपात भएको हो । मंगलबार बिहानैदेखि मौसममा बदली आएसँगै साँझदेखि हल्का वर्षासँगै हिमपात भएको हो । हाल जिल्लाको तीन हजार मिटर उचाइभन्दा माथिको क्षेत्रमा हल्का हिमपात भइरहेको छ ।
जिल्लाको तल्लो क्षेत्रमा आंशिक वर्षा र माथिल्लो क्षेत्रमा हिमपात भएपछि किसान र स्थानीयहरूले भने राहत महसुस गरेका छन् । हिउँविहीन बनेका हिमालहरू हिउँ परेसँगै सेताम्मे भएका छन् । जिल्लाका पत्ताले, पिके, नाम्चे, खुम्जुङलगायत स्थानमा हिउँ परिरहेको छ । नाम्चे बजार क्षेत्रमा भने बिहान केही बेर मात्रै हिमपात भएको थियो । बजार क्षेत्रमा हिउँ कमै मात्रामा परे पनि हिमालमा भने हिमपात भइरहेको छ ।
कालापत्थरमा परिणत भएका हिमालहरू सेताम्मे भएको बताइएको छ । हिउँदमा वर्षा र हिमपात नहुँदा सिँचाइको अभावले चिन्तित बनेका कृषकहरूले राहत महसुस गरेका छन् । हिउँदे बालीको उत्पादन घट्ने चिन्तामा परेकाहरू आकासे पानी परेसँगै उत्साहित भएका छन् ।
Discussion about this post