पौष २३, सोलुखुम्बु । भूकम्पका कारण सोलुखुम्बुमा सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालयको भवनसहित ८ वटा घरमा क्षति पुगेको छ । आज बिहान सोलुखुम्बुको सीमाना तिब्बतमा केन्द्र बनाएर बिहान ६ः५० बजे गएको शक्तिशाली भूकम्पका कारण जिल्लामा भुकम्पबाट निकुञ्ज सहित ८ वटा घरमा क्षति पुगेको हो । जिल्लाको लिखुपिके गाउँपालिका ४ का कमलकृष्ण कार्कीको ढुङ्गा माटो बनेको घर बस्न नमिल्ने गरी क्षति पुगेको छ ।
यस्तै थुलुङ दुधकोशी ७ देउसा लुरुवाका ५० वर्षीय हर्कबहादुर खत्रीको ढुङ्गा र माटोले बनेको दुई तले घरको माथिल्लो तलाको गारो चर्किएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले जानकारी दिनुभयो । त्यस्तै, केन्द्रविन्दुबाट नजिक रहेको खुम्बुपासाङ ल्हामु गाउँपालिका ५ हेलाजुङ बस्ने आङङिमा शेर्पाको ढुङ्गा, माटो र टिनको छानाको दुई तले घरमा पनि क्षति पुगेको डिएसपी घिमिरेको भनाइ छ ।
यस्तै माप्य दुधकोशीमा दुई र सोताङ गाउँपालिकामा एक गरि जिल्लाका आठ वटा घरमा सामान्य क्षति भएको प्रमुख जिल्ला अधिकारी अनोज कुमार घिमिरेले जानकारी दिुनभयो । घटनापछि प्रहरी चौकी मुक्ली र थाम्बुचेबाट घटनास्थलमा प्रहरी टोली खटाइएको छ । भूकम्पका कारण जिल्लाका विभिन्न स्थानमा भएको क्षतिको थप विवरण भने आउने क्रम जारी रहेको छ । आज बिहान ६ बजेर ५० मिनेटमा चीनको सिजाङ स्वशासित क्षेत्रको डिङ्गयी काउन्टी केन्द्र भएर ६ दशमलव ८ म्याग्निच्युडको भूकम्प गएको थियो ।
Discussion about this post