पौष २३, सोलुखुम्बु । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपास्थित चारवटा टोलका स्थानीयले आयातित पेयपदाथ सेवनमा प्रतिबन्ध लगाएका छन् । आयातित पेयपदार्थले आर्थिक, परम्परागत संस्कृति र स्वास्थ्यमा समेत प्रतिकूल असर पु¥याएको भन्दै गैरी फुलेली, कुसुङ्खा, उर्लेनी र छापगाउँका स्थानीवासीले बिहे, छेवर, गुन्युचोली, पास्नी, काजकिरिया तथा विभिन्न चाडपर्व र मेलापातमा यसअघि सेवन गरिँदै आइएको आयातित पेयपदार्थ सेवनमा पूर्ण रूपले प्रतिबन्ध लगाएका हुन् ।
बाहिरी जिल्लाबाट आयातित पेयपदार्थ सेवनले आर्थिक, सांस्कृति तथा मानव स्वास्थ्यमा समेत प्रतिकूल असर गरेकाले पूर्ण रूपमा प्रतिबन्ध लगाइएको सामाजिक अभियान्ता अरुण राईले जानकारी दिनुभयो । गैरी फुलेलीमा गत असोज २९ गते स्थानीय सुशीला राईको विवाहदेखि आयातित पेयपदार्थ सेवनमा पूर्ण रूपले प्रतिबन्ध लगाइएको स्थानीयवासीले बताएका छन् । २८ परिवार रहेको गैरी फुलेलीमा स्थानीय फुलेली सेवा समाजको पहलमा गत असोज १६ गते भएको भेलाको निर्णयले गाउँमा हुने काजभोज तथा मेलापातमा आयातित पेयपदार्थ सेवनमा पूर्ण प्रतिबन्ध लगाएको हो । आयातित पेयपदार्थ सेवनमा प्रतिबन्ध लगाउने स्थानीयवासीको निर्णयलाई वडा कार्यालयको समेत सहयोग र समर्थन रहेको बुइपाका वडाध्यक्ष दिनेश राईले बताउनुभयो ।
Discussion about this post