पौष २७, सोलुखुम्बु । रैथाने बाली संरक्षण तथा प्रवद्र्धन अभियानमा लागेको हलेसी तुवाचुङ नगरपालिकाले पाँच मुरीभन्दा बढी बदाम फलाउने किसानलाई प्रोत्साहनबापतको रकम वितरण सुरू गरेको छ । नगरसभाबाट पारित बदाम प्रवद्र्धन कार्यक्रमअन्तर्गत पाँच मुरीभन्दा बढी बदाम फलाउने किसानलाई उनीहरूको गाउँमै लगेर प्रोत्साहनबापतको रकम वितरण सुरू गरेको हो ।
पहिलो चरणमा नगरपालिकाको वडा नं २ डिकुवा र वडा नं ८ धितुङका किसानलाई प्रोत्साहन रकम वितरण गरिएको नगरपालिकाका कृषि शाखा प्रमुख रवीन भट्टराईले जानकारी दिनुभयो । कृषि शाखा प्रमुख भट्टराईका अनुसार धितुङका ९८ जना किसानलाई रू तीन लाख ९४ हजार र डिकुवाका छ जना किसानलाई रू २१ हजार प्रोत्साहनबापतको रकम वितरण गरिएको हो ।
यस वर्ष धितुङका ९८ जना किसानले नौ सय ९७ मुरी र डिकुवाका छ जना किसानले ५० मुरी बदाम उत्पादन गरेको नगरपालिकाले जनाएको छ । एघार वडा रहेको उक्त नगरपालिकामा यो वर्ष दुई हजार मुरी बदाम उत्पादन भएको अनुमान गरिएको कृषि शाखा प्रमुख भट्टराईले जानकारी दिनुभयो ।
Discussion about this post