माघ १५, सोलुखुम्बु । सोलुखुम्बुमा वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित र लाभदायक बनाउने उद्देश्यका साथ सञ्चालित सुरक्षित आप्रवासन स्रोत केन्द्रको सेवा प्रभावकारी बन्दै गएको छ । सङ्घीय सरकार र प्रदेश सरकारसँगको सहकार्यमा सोलुदुधकुण्ड नगरपालिकाले जिल्ला प्रशासन कार्यालयमा स्थापना गरेको आप्रवासी स्रोत सञ्चालन भएपछि वैदेशिक रोजगारीमा गएका र जाने तयारीमा रहेका व्यक्ति तथा परिवारका सदस्य यसबाट लाभान्वित भएका छन् ।
आप्रवासी स्रोत केन्द्रका कारण लक्षित वर्गले सही सूचना पाउन थालेका छन् भने श्रमिक तथा परिवारको आर्थिक सामाजिक सुदृढीकरण एवं सीप र उद्यमशीलतामा पहुँच बढेको प्रमुख जिल्ला अधिकारी अनोज कुमार घिमिरेले जानकारी दिनुभयो । जिल्लामा आप्रवासी स्रोत केन्द्र (सहायता कक्ष) बाट हाल सम्म ८१६ जनाले सेवा लिएका छन् । साउन महिनामा ६४ जना, भदौ महिनामा १८१ जना र असोजमा १३४ जना, कार्तिक महिनामा ११६ जना, मंसिरमा १४ जना, पौषमा १४१ जना र माघ महिनाको १४ गते सम्म ४५ जनाले सेवा लिएकोे परामर्शकर्ता सलिना लामिछानेले बताउनुभयो ।
उहाँका अनुसार वैदेशिक रोजगारको शिलशिलामा पुगेका जिल्लाका दुई नागरिको मुत्यु हुँदा मृतक कामदारको परिवारलाई आर्थिक सहायता दिने प्रकृया समेत अगाडी बढाइएको छ । यस्तै वैदेशिक रोजगारीमा ठगिएकाहरू जिल्ला प्रशासन कार्यालयमा उजुरी दिन सकिने व्यवस्था रहेको प्रमुख जिल्ला अधिकारी घिमिरले बताउनुभएको छ ।
Discussion about this post