फागुन ७, सोलुखुम्बु । डिभिजन वन कार्यालय सोलुखुम्बुबाट तीन आर्थिक बर्षमा ८ लाख बढी घनफिट काठ उत्पादन गरिएको छ । कार्यालयबाट आर्थिक बर्ष २०७८/०७९ देखि २०८०/०८१ भित्र ८ लाख ७८ हजार ९ सय ५२ दशमलव ०१ घनफिट काठ उत्पादन गरिएको हो । जस्मा आर्थिक बर्ष २०७८/०७९ मा निजी वनबाट मात्र १ लाख ५० हजार १ सय ५३ दशमलव ५० घनफिट काठ उत्पादन गरिएको डिभिजन वन कार्यालय सोलुखुम्बुको तथ्याङकमा उल्लेख गरिएको छ ।
यस्तै आर्थिक बर्ष २०७९/०८० मा सामुदायिक र निजी वनबाट गरी कुल २ लाख ३३ हजार ९ सय ६० दशमलव १८ घनफिट र आर्थिक बर्ष २०८०/०८१ मा ४ लाख ९४ हजार ८ सय ३८ दशमलव ६७ घनफिट काठ उत्पादन गरिएको डिभिजन वन कार्यालय सोलुखुम्बुका सूचना अधिकारी मनराज राईले जानकारी दिनुभयो । जिल्लामा उत्पादन भएको काठ काठमाडौँ तथा झापा लगायतका जिल्लाहरुमा निकासी हुने गरेको छ ।
नेपाल सरकारले २०७५ सालमा स्वीकृत गरेको नेपालको वन नीतिले सन्तुलित पारिस्थितिकीय कार्य र विभिन्न प्रकारका इकोसिस्टम सेवाहरू सिर्जना गर्न कम्तीमा ४० प्रतिशत जमिनलाई वन आवरणभित्र राख्ने उल्लेख गरेको छ । नेपालको संविधानको धारा ५१ अनुसार वातावरणीय सन्तुलनका लागि नेपालको निश्चित भूभागमा वन कायम गरिने भन्ने संवैधानिक व्यवस्थासमेत रहेको छ ।
Discussion about this post