फागुन ११, सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुमा माध्यमिक शिक्षा परीक्षा (एसइई) का लागि १४ वटा परीक्षा केन्द्र तोकिएको छ । चैत ७ गतेबाट सुरु हुने एसईई परीक्षाका लागि जिल्लाबाट १४ वटा परीक्षा केन्द्र तोकिएको शिक्षा विकास तथा समन्वय इकाई सोलुखुम्बुले जनाएको छ ।
जिल्लाको नेचासल्यान गाउँपालिकामा २ वटा विद्यालय हिमाल दर्शन क्याम्पस र संस्कृत विद्यापीठ क्याम्पस, सोलुदुधकुण्ड नगरपालिकामा ३ वटा विद्यालय जनजागृति माध्यमिक विद्यालय, जनजागृति आधारभूत विद्यालय र शिशाखोला आधारभूत विद्यालय, खुम्बु पासाङल्हामु गाउँपालिकामा एक वटा लुक्ला आधारभूत विद्यालय चौरीखर्क र माप्य दुधकोशी गाउँपालिकामा २ वटा दुधकोशी आधारभूत विद्यालय तथा पध्मकन्या आधारभूत विद्यालय दाम्कु बासालाई परीक्षा केन्द्र तोकिएको शिक्षा विकास तथा समन्वय इकाई सोलुखुम्बुका प्राविधिक सहायक प्रकाण्ड न्यौपानेले जानकारी दिनुभयो ।
यस्तै सोताङ गाउँपालिकामा सोताङ क्याम्पस सोताङ, महाकुलुङ गाउँपालिकामा पेल्माङ आधारभूत विद्यालय बुङ, थुलुङदुधकोशी गाउँपालिकामा ३ वटा कालिका आधारभूत विद्यालय जुबु, त्रिभुवन विद्योदय आधारभूत विद्यालय तथा ठकुमाला आधारभूत विद्यालयलाई परीक्षा केन्द्र ताकिएको छ भने लिखुपिके गाउँपालिकामा जनसेवा आधारभूत विद्यालय चौलाखर्कलाई परीक्षा केन्द्र तोकिएको कार्यालयले जनाएको छ । यस वर्ष सोलुखुम्बुबाट एसईई परीक्षामा नियमित र आंशिकतर्फ गरी कुल १ हजार ६ सय ६० जना विद्यार्थीहरू परीक्षामा सामेल हुने भएका छन् ।
Discussion about this post