फागुन ११, सोलुखुम्बु । चारदेशीय अन्तर्राष्ट्रिय महिला च्याम्पियनशिप फुटबलमा नेपाल र म्यानमारबीचको खेलको पहिलो हाफ सकिँदा २–२ गोलको बराबरी भएको छ । त्रिपुरेश्वरको दशरथ रङ्गशालामा भइरहेको खेलमा म्यानमारले खेलको छैटौं मिनेटमै अग्रता लियो । तर खेलको ११औं मिनेटमा सबिता रानामगरले गोल गर्दै खेल बराबरीमा ल्याएकी थिइन् ।
फेरि १७औं मिनेटमा म्यानमारले अग्रता लियो । तर खेलको ४१औं मिनेटमा सावित्रा भण्डारीले गोल गर्दै खेल २–२ को बराबरीमा ल्याइन् । नेपाल र म्यानमार दुवै टोली फाइनलमा पुगिसकेका छन् । यो खेलले लिग चरणको विजेता र उपविजेताको टुङ्गो लाग्नेछ । नेपाल र म्यानमार एक खेलअघि नै उपाधि नजिकै पुगेका हुन् ।
दुवै टोली अपराजित छन् । प्रतियोगितामा आज भएको पहिलो खेलमा किर्गिस्तानलाई हराउँदै लेबनानले सान्त्वना जीत हात पारेको छ । किर्गिस्तान ३ वटै खेलमा पराजित भयो । दुवै टोली लिग चरणबाट बाहिरिइसकेका छन् । नेपाल र म्यानमारबीच अहिलेसम्म ४ पटक भेट भएको छ जसमा नेपाल ३ खेलमा पराजित हुँदा १ खेल बराबरीसमा सकिएको छ । नेपाल र म्यानमारबीचको फाइनल खेल आउँदो बुधवार हुनेछ ।
Discussion about this post