चैत्र १०, सोलुखुम्बु । कीर्तिमानी सगरमाथा आरोहीलाई यती एयरलाइन्स र ह्याम्स अस्पतालले आफ्नो सेवामा विशेष छुट दिने भएका छन् । उक्त प्रयोजनका लागि सगरमाथा आरोही सङ्घले ती दुई कम्पनीसँग छुट्टाछुट्टै सम्झौता गरेको छ । सगरमाथा आरोहण गरेको ७१ वर्ष पुगेको स्मरण गर्दै विश्वकीर्तिमानी र कीर्तिमानी आरोहीलाई सेवामा विभिन्न छुट दिने सम्झौता भएको छ ।
सङ्घमा आबद्ध आरोही र आरोहीका परिवारलाई यती एयरलाइन्सबाट उडान गर्दा टिकटको न्यूनतम मूल्यमा थप विशेष छुटको व्यवस्था गरिएको छ । सोसम्बन्धी सम्झौतामा सङ्घका तर्फबाट अध्यक्ष माया शेर्पा र एयरलाइन्सका तर्फबाट प्रमुख व्यापार अधिकृत युवराज विष्टले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
यसैगरी ह्याम्स अस्पतालले प्रदान गर्ने सेवामा सगरमाथा आरोही सङ्घको सिफारिसमा विश्व कीर्तिमानी आरोहीलाई ५० प्रतिशतसम्म छुटको, कीर्तिमानी आरोही र आरोहीका परिवारलाई ३० प्रतिशतसम्म छुट दिइनेछ ।
त्यसका लागि सङ्घका तर्फबाट अध्यक्ष माया शेर्पा र हस्पिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विनोदकुमार ढुङ्गेलले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । उक्त कार्यक्रममा सङ्घका तर्फबाट प्रथम उपाध्यक्ष दिवस पोखेल र महासचिव शिवबहादुर सापकोटाको उपस्थिति रहेको थियो ।
Discussion about this post