चैत्र २७, सोलुखुम्बु । खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकामा नवराज पराजुलीको ‘कविता कन्सर्ट’ सहित साहित्यिक कार्यक्रम हुने भएको छ । गाउँपालिकाको व्यवस्थापन र ‘दिप्रुङ चुइचुम्मा प्राज्ञ समाज’ को आयोजनामा चैत २९ र ३० गते साहित्यिक कार्यक्रम हुने भएको हो । दुई दिनसम्म सञ्चालन हुने कार्यक्रममा नेपालकै चर्चित साहित्यकारहरुको उपस्थिति रहने छ । ‘दिप्रुङ चुइचुम्मा प्राज्ञ समाज’ ले आयोजना गरेको खुला राष्ट्रव्यापी कविता प्रतियोगितामा छनोट भएका देशभरका कविहरु प्रतियोगि कविता पनि वाचन गरेर सुनाउने छन् ।
यस्तै, राष्ट्रव्यापी कविता प्रतियोगितासँगै स्रष्टा सम्मान कार्यक्रम पनि रहेको संस्थाको सचिव आस्था कोपिलाले जानकारी दिनुभएको छ । प्रतियोगिताका लागि आएका ६७ कवितामध्ये वाचनका लागि कविहरू १५ वटा कविता अर्थात कविहरु छनोट भएको उहाँको भनाई छ । कार्यक्रममा नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति भूपाल राई, सदस्य सचिव धनप्रसाद सुवेदी, वरिष्ठ गायक बच्चु कैलाश, पूर्व शसस्त्र प्रहरी महानिरीक्षक सनत बस्नेत, वरिष्ठ चिकित्सक डा. कृष्ण कुमार राई, चर्चित साहित्यकार अमर न्यौपाने, अर्थविद हरि रोका, साहित्यकार नगेन्द्रराज रेग्मी, साहित्यकार विष्णु आभूषण, शिक्षाविद जयकुमार राई, लेखक कैलाश कुमार राई, कवि विष्णु ज्ञावली लगायतको उपस्थिति रहने सचिव कोपिलाले बताउनुभयो ।
दिप्रुङ चुइचुम्मा गाउँपालिकाको सभाहलमा सञ्चालन हुने खुला राष्ट्रव्यापी कविता तथा श्रष्टा सम्मान उक्त कार्यक्रममा अलिहेका युवा पुस्ताका लोकप्रिय कवि नवराज पराजुलीको कविता कन्सर्ट हुने आयोजकले जनाएको छ । कवि पराजुलीले आफ्ना कविताहरु सुनाउनुहुनेछ । यस्तै, संगीतकार उज्वल मगरको विशेष सांगीतिक प्रस्तुतिसमेत रहने बताइएको छ ।
Discussion about this post