चैत्र २९, सोलुखुम्बु । सुनसरीको धरान–६ मा रहेको पाँचकन्या सामुदायिक वनमा सोमबार मृत फेला परेकी महिलाको पहिचान खुलेको प्रहरीले जनाएको छ । सुनसरीका प्रहरी प्रवक्ता डीएसपी योगराज खतिवडाले मृतक महिला धनकुटा महालक्ष्मी नगरपालिका–१ की ३४ वर्षीय चुनुकुमारी दाहाल रहेको जानकारी दिनुभयो ।
ती महिलाको सनाखत उनकै भाइ लीलबहादुर दाहाल र ससूराले गरेको खतिवडाको भनाई छ । मृतक महिला दुई वर्ष अगाडिदेखि इटहरीको हलगडामा बसोबास गर्दै आएकी थिइन् । उनको १३ वर्षीय छोरा साथमै रहेका थिए भने श्रीमान् कोरियामा रहेका प्रहरीले जनाएको छ । घटना शंकास्पद रहेकाले अनुसन्धान भइरहेको खतिवडाले बताए । मृतक दाहालको शरीरमा चोटपटक देखिएको थियो भने अर्धनग्न अवस्थामा फेला परेकी थिइन् ।
प्रारम्भिक अनुसन्धानमा शव केही मिटर घिसारिएको जस्तो देखिएको प्रहरीले जनाएको छ । उनको शव बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोस्टमार्टमका लागि राखिएको छ । पोस्टमार्टम रिपोर्ट आएपछि घटनाको प्रकृति स्पष्ट हुने प्रहरीले जनाएको छ ।
Discussion about this post