बैशाख ८, सोलुखुम्बु । खोटाङको रावाबेँसी गाउँपालिका कार्यालयले कर्मचारीको निधनमा मङ्गलबार अत्यावश्यक बाहेक सबै सेवा बन्द गर्ने गरी शोक बिदा दिएको छ । गाउँपालिकाको कार्यालयमा कार्यालय सहयोगी महेश रेग्मीको निधनमा शोक बिदा दिने निर्णय गरेको हो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज रेग्मी द्वारा जारी शोक बिदासम्बन्धी सूचनामा रेग्मीको असायमिक निधनप्रति दुःख व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरिएको छ ।
पालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज रेग्मीले अत्यावश्यक बाहेक गाउँपालिकालगायत गाउँपालिकाअन्तर्गतका सम्पूर्ण वडा कार्यालय, स्वास्थ्य संस्था, सामुदायिक विद्यालयहरुमा सम्पूर्ण सेवा बन्द हुने गरी मङ्गलबार शोक बिदा दिने निर्णय गरेको जनाउनुभएको छ । सोमबार कुभिण्डेका ५७ वर्षका रेग्मी गाउँको बारीमा मृत भेटिएका हुन् । बारीको उनी मृत भेटिएको कुभिण्डेका वडाध्यक्ष गेहेन्द्रमान राईले जानकारी दिनुभयो । गोरेटो बाटोबाट करिब ८, ९ मिटर तल बारीको भित्तामा टाउको तल, खुट्टा माथि रहेको अवस्थामा मृत भेटिएको वडाध्यक्ष राईले बताउनुभयो ।
दाइको घरबाट आइतबार राति करिब साढे ८ बजे चिया खाएर हिँडेकोसम्म जानकारी पाइएको उहाँको भनाइ छ । उनी सोमबार बिहान मृत भेटिएका हुन् । कार्यालय सहयोगी रेग्मी गोरेटो बाटोबाट लडेर मृत्यु भएको जस्तो देखिएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । थप कुरा घटनाको अनुसन्धानबाट खुल्ने जिल्ला प्रहरी कार्यालय खोटाङबाट घटना स्थलमा पुग्नुभएका प्रहरी निरीक्षक सुशान्त मिश्रले बताउनुभयो ।
Discussion about this post