बैशाख ११, सोलुुखुम्बु । सोलुखुम्बुका उद्योगी तथा व्यवसायीहरुका लागि दुई दिने कर सम्बन्धी तालिम सञ्चालन गरिएको छ । उद्योगी व्यवसायीहरुलाई कर शिक्षा र कानुनी व्यवस्थाका बारेमा जानकारी गराउने उद्देश्यले जिल्लामा बिहिबारदेखि तालिम सञ्चालन गरिएको हो । सोलुखुम्बु उद्योग वाणिज्य संघको आयोजनामा तालिम संचालन गरिएको सोलुखुम्बु उद्योग वाणिज्य संघका सचिव महेश राईले बताउनुभयो ।
तालिममा सोलुखुम्बु उद्योग वाणिज्य संघमा आवद्ध उद्योगी लगायत अन्य व्यवसायीहरुको सहभागीता रहेको छ । कार्यक्रममा सोलुखुम्बु उद्योग वाणिज्य संघका अध्यक्ष रामलाल श्रेष्ठले जिल्लाका सबै व्यवसायीमा करका बारेमा सचेतना जगाउने र कानुनी प्रावधानका विषयमा जानकारी गराउने उद्देश्यले तालिम आयोजना गरिएको बताउनुभयो । उहाँले तालिममा सिकेका कुराहरुलाई व्यवहारमा उतार्न पनि सहभागीहरुलाई आग्रह गर्नुभयो ।
यस्तै सोलुखुम्बु उद्योग वाणिज्य संघका उपाध्यक्ष एवंम तालिमका प्रशिक्षक भानुभक्त उपाध्यायले उद्योगी व्यवसायहरुलाई करका बारेमा भएका अन्यौलताहरु हटाउन र कर तिर्न प्रति उत्प्रेरित गर्न तालिमले महत्वपूर्ण टेवा पुग्नेमा विश्वास व्यक्त गर्नुभएको छ । उहाँले राज्य सञ्चालनको मुख्य आधार कर भएकाले गर्वका साथ व्यवसाय सञ्चालन गर्न समेत उद्योगी व्यवसायीहरुलाई आग्रह गर्नुभयो । उहाँले कर के हो ? करका प्रकार, कानुनी व्यवस्था, संस्था दर्ता गर्दा ध्यान दिनुपर्ने कुराहरु, करका प्रक्रिया, कानुनी अड्चन लगायतका बारेमा जानकारी दिइरहनु भएको छ । तालिम शुक्रबारसम्म चल्ने छ ।
Discussion about this post