असोज १७, सोलुखुम्बु । चाडपर्व नजिकिँदै गएसँगै सोलुखुम्बुमा यात्रु तथा सवारी साधनको सहज व्यवस्थापनका लागि सिद्धिचरण राजमार्गका तीन स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय सोलुखुम्बु र नेपाल प्रहरीले स्थानीय तहसँगको समन्वयमा सोलुदुधकुण्ड नगरपालिका क्षेत्रभित्र पर्ने सिद्धिचरण राजमार्गका सल्लेरी आवाडाँडा, जोरबौद्ध र पत्तालेमा यात्रु सहायता कक्ष स्थापना गरेका हुन् ।
दसैँ, तिहार तथा छठजस्ता ठूला चाडपर्वका समयमा यात्रु तथा सवारी साधनको चाप बढ्ने, सवारी सञ्चालनमा असावधानी तथा तीव्र प्रतिस्पर्धा हुन सक्ने र यात्रु ठगी तथा कालोबजारीको जोखिमसमेत रहने भएकाले सहायता कक्ष स्थापना गरिएको प्रहरीले जनाएको छ । सहायता कक्ष स्थापनाका क्रममा गरिएको छलफल तथा अन्तरक्रियामा चाडपर्वका समयमा सडक सुरक्षा र यातायात व्यवस्थापनलाई प्राथमिकता दिने प्रतिबद्धता गरिएको छ।
विगतमा सवारी दुर्घटना भएका तथा दुर्घटनाको जोखिम बढी रहेका सडक, स्थान र सडकखण्ड पहिचान गरी दुर्घटनाका कारण विश्लेषण गर्ने र तत्काल सुधार गर्नुपर्ने विषयमा सम्बन्धित निकायमार्फत पहल गर्ने सहमति भएको छ । त्यस्तै, चाडपर्वका समयमा यात्रु तथा सवारी साधनको चाप बढ्ने भएकाले बसपार्क, मुख्य बजार क्षेत्र, राजमार्ग, सहायक मार्ग तथा बढी सवारी आवागमन हुने स्थानमा आवश्यक ट्राफिक व्यवस्थापन गर्ने जनाइएको छ ।
सवारी दुर्घटना न्यूनीकरणका लागि सवारी साधनको यान्त्रिक अवस्था परीक्षणलाई समेत प्राथमिकतामा राखिने भएको छ। लामो दूरीका यात्रामा सवारी साधनको अवस्था, सडकको जोखिम तथा चालकको सावधानीमा विशेष ध्यान दिने विषयमा पनि सरोकारवालाबीच छलफल भएको थियो ।
छलफल तथा अन्तरक्रिया कार्यक्रम सोलुदुधकुण्ड नगरपालिकाकी उपप्रमुख गान्धी माया तामाङको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा चाडपर्वका समयमा सुरक्षित, सहज र व्यवस्थित यातायात सञ्चालनका लागि जोखिम पहिचान, योजना निर्माण, सरोकारवाला निकायबीच समन्वय, कार्यान्वयन तथा अनुगमनलाई प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरिएको छ।










Discussion about this post