असोज १७, सोलुखुम्बु । खोटाङको ऐसेलुखर्क गाउँपालिकाभित्रका विद्यालयमा इन्टरनेटको पहुँच विस्तार भएसँगै अध्यापन तथा विद्यालयको प्रशासनिक काममा सहजता भएको छ । गाउँपालिकाले सामुदायिक विद्यालयमा इन्टरनेट जडान गरेपछि प्रविधिको प्रयोगमार्फत शिक्षण सिकाइ गर्न सहज भएको शिक्षकहरूले बताएका छन् । गाउँपालिकाभित्रका प्राथमिक तहदेखि माध्यमिक तहसम्मका विद्यालयमा इन्टरनेट सुविधा पुगेपछि शिक्षक तथा विद्यार्थीलाई आवश्यक शैक्षिक सामग्री खोज्न र प्रयोग गर्न सहज भएको हो ।
ऐसेलुखर्क गाउँपालिका–३ स्थित बाल चेतना प्राथमिक विद्यालयका प्रधानाध्यापक शान्ति राईले विद्यालयमा गाउँपालिकाले नै इन्टरनेट जडान गरिदिएपछि अध्यापनका क्रममा नआएका तथा आफूलाई जानकारी नभएका विषयबारे आवश्यक सामग्री खोज्न सहज भएको बताउनुभयो । इन्टरनेटको पहुँचले शिक्षण सिकाइलाई प्रविधिमैत्री बनाउन सहयोग पुगेको उहाँको भनाइ छ । उहाँका अनुसार विद्यालयमा शिक्षकको सीमितता रहे पनि उपलब्ध प्रविधिको प्रयोग गरी शिक्षण सिकाइलाई प्रभावकारी बनाउने प्रयास भइरहेको छ । इन्टरनेटको प्रयोगबाट विभिन्न विषयका शैक्षिक सामग्री तथा जानकारी प्राप्त गरी विद्यार्थीलाई अध्यापन गराउन सहज भएको उहाँले बताउनुभयो ।
यस्तै, ऐसेलुखर्क गाउँपालिका–६ स्थित महाकला प्राथमिक विद्यालयका प्रधानाध्यापक कुमारप्रसाद अधिकारीले करिब एक वर्षअघि विद्यालयमा जडान गरिएको इन्टरनेटले प्रशासनिक कामसँगै अध्यापनमा समेत सहयोग पुगेको बताउनुभयो । विद्यालयका प्रशासनिक विवरण तयार गर्ने, आवश्यक सूचना तथा सामग्री प्राप्त गर्ने र शिक्षण सिकाइमा प्रविधिको प्रयोग गर्न इन्टरनेट उपयोगी भएको उहाँको भनाइ छ । शिक्षामा प्रविधिको प्रयोग आवश्यक हुँदै गएको अवस्थामा गाउँपालिकाले विद्यालयमा इन्टरनेटको पहुँच विस्तार गर्नु सकारात्मक कार्य भएको अधिकारीले बताउनुभयो ।
उहाँले इन्टरनेटको पहुँचसँगै विद्यालयमा उपलब्ध प्रविधिको प्रभावकारी प्रयोगमा समेत जोड दिनुपर्ने बताउनुभयो । ऐसेलुखर्क गाउँपालिकाले विद्यालयमा इन्टरनेटको पहुँच विस्तार गरेपछि दुर्गम तथा ग्रामीण क्षेत्रका विद्यालयमा समेत सूचना प्रविधिको प्रयोगमार्फत शिक्षण सिकाइलाई सहज बनाउने वातावरण तयार भएको शिक्षकहरूको भनाइ छ ।











Discussion about this post