असोज १७, सोलुखुम्बु । सोलुखुम्बुमा अनलाइन ठगीका घटना बढ्दै गएका छन्। जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका अनुसार चालु आर्थिक वर्षमा मात्रै १६ वटा अनलाइन ठगीसम्बन्धी घटना प्रहरीसम्म पुगेका छन्। पछिल्लो एक सातामा मात्रै अनलाइन ठगीसम्बन्धी ६ वटा निवेदन प्रहरीमा परेको कार्यालयले जनाएको छ। जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका सूचना अधिकारी सञ्जीव यादवका अनुसार पछिल्लो समय विभिन्न प्रलोभन देखाएर अनलाइनमार्फत रकम ठगी गर्ने क्रम बढिरहेको छ। विशेषगरी अनलाइन गेमिङ तथा विभिन्न आर्थिक लाभको प्रलोभनमा परेर नागरिक ठगीने गरेका छन्।
अनलाइन ठगीको निशानामा सदरमुकाम तथा आसपासका क्षेत्रका नागरिक बढी पर्ने गरेको प्रहरीको भनाइ छ। तर ठगीमा पर्नेहरू कुनै निश्चित वर्गका मात्रै छैनन्। न्यून आय भएका परिवारदेखि व्यापारी, व्यवसायी तथा सामाजिक सञ्जाल प्रयोगकर्तासम्म विभिन्न क्षेत्रका मानिस अनलाइन ठगीको जोखिममा पर्ने गरेका छन्।
ठगहरूले सामाजिक सञ्जाल, अनलाइन गेमिङ तथा विभिन्न डिजिटल माध्यम प्रयोग गरी आर्थिक प्रलोभन देखाउने र त्यसैमार्फत रकम पठाउन लगाउने गरेको प्रहरीले जनाएको छ। कतिपय अवस्थामा आकर्षक आम्दानी, लगानीमा उच्च प्रतिफल तथा अन्य लाभको आश्वासन दिएर नागरिकलाई विश्वासमा पार्ने गरेको पाइएको छ। प्रहरीका अनुसार प्रविधिको प्रयोग बढेसँगै अनलाइन ठगीका नयाँ–नयाँ स्वरूपसमेत देखिन थालेका छन्।
सामान्य सावधानी नअपनाउँदा सामाजिक सञ्जालमार्फत प्राप्त हुने सन्देश, लिंक वा आर्थिक कारोबारकै माध्यमबाट नागरिक ठगीमा पर्न सक्ने भएकाले सचेत रहन प्रहरीले आग्रह गरेको छ। प्रहरीले अपरिचित व्यक्तिको आग्रहमा रकम पठाउन, शंकास्पद लिंक खोल्न तथा व्यक्तिगत वा बैंकिङ विवरण उपलब्ध गराउनुअघि आवश्यक जाँच गर्न आग्रह गरेको छ। अनलाइन माध्यमबाट ठगीमा परेको शंका भए तत्काल प्रहरीमा जानकारी गराउनसमेत प्रहरीले अनुरोध गरेको छ।










Discussion about this post