असोज १७, सोलुखुम्बु । सोलुखुम्बुमा स्थानीय स्तरमा उपलब्ध रूख तथा वनस्पतिजन्य कच्चा पदार्थबाट कागज उत्पादन गर्ने सीप तथा प्रविधिसम्बन्धी १० दिने तालिम सम्पन्न भएको छ। सोलुदुधकुण्ड नगरपालिका–८, फाप्लु खोलाघारीमा सञ्चालन गरिएको तालिममा स्थानीय स्तरमा पाइने विभिन्न रूख, विरुवा तथा वनस्पतिजन्य सामग्रीको प्रयोग गरी कागज उत्पादन गर्ने तरिका सिकाइएको थियो।
तालिममा सहभागीलाई कच्चा पदार्थको छनोटदेखि कागज उत्पादन गर्ने विभिन्न प्रक्रियाबारे प्रयोगात्मक रूपमा जानकारी दिइएको आयोजकले जनाएको छ। महिला उद्यमी महासंघ नेपाल र महिला उद्यमी संघ नेपालको आयोजनामा तथा नेपालमा व्यवसायसम्बन्धी विकास कार्यक्रमको आर्थिक सहयोग र तिब्बती हस्तकलाको प्राविधिक सहयोगमा तालिम सञ्चालन गरिएको हो।
तालिमको समापन कार्यक्रममा सोलुदुधकुण्ड नगरपालिका–४ का वडाध्यक्ष युवास तामाङ प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रमको अध्यक्षता महिला उद्यमी संघकी अध्यक्ष शारदा तामाङले गर्नुभएको थियो। तालिमले स्थानीय स्तरमा खेर गइरहेका तथा सहज रूपमा उपलब्ध हुने वनस्पतिजन्य स्रोतलाई सदुपयोग गरी कागज उत्पादन गर्न सकिने सीप विकासमा सहयोग पुगेको आयोजकको भनाइ छ ।
स्थानीय कच्चा पदार्थको प्रयोगबाट उत्पादन गर्न सकिने वस्तुलाई व्यवसायसँग जोड्दै स्थानीय स्तरमै रोजगारी तथा आयआर्जनका अवसर सिर्जना गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको हो। तालिममा सहभागीहरूले स्थानीय स्रोतसाधनको प्रयोगबाट वातावरणमैत्री कागज उत्पादन गर्न सकिने प्रविधि सिकेकाले आगामी दिनमा यसलाई व्यावसायिक रूपमा अघि बढाउन सकिने बताएका छन्।










Discussion about this post