असोज १८, सोलुखुम्बु । डिभिजन वन कार्यालय सोलुखुम्बुले वन्यजन्तुको आक्रमणबाट क्षति व्यहोरेका पीडितलाई आर्थिक वर्ष २०८२/८३ मा ४ लाख ५७ हजार १७१ रुपियाँ राहत तथा क्षतिपूर्ति रकम उपलब्ध गराएको छ । कार्यालयका अनुसार वन्यजन्तुको आक्रमणबाट गम्भीर घाइते भएका एक जना, अन्नबालीमा क्षति पुगेका एक जना र पशुधनमा क्षति व्यहोरेका ३२ जना गरी ३४ जना पीडितलाई उक्त रकम भुक्तानी गरिएको हो ।
डिभिजन वन कार्यालय सोलुखुम्बुका वन अधिकृत रामचन्द्र ठाकुरका अनुसार वन्यजन्तुको आक्रमणबाट गम्भीर घाइते भएका एक जनालाई ८२ हजार १७१ रुपियाँ, अन्नबाली क्षतिबापत एक जनालाई ९ हजार ५०० रुपियाँ र पशुधन क्षतिबापत ३२ जना पीडितलाई तीन लाख ६५ हजार ५०० रुपियाँ राहत रकम उपलब्ध गराइएको छ ।
यसैगरी, केही पीडितलाई भने राहत रकम भुक्तानी गर्न बाँकी रहेको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार अन्नबाली क्षतिबापत एक जना पीडितलाई नौ हजार ५०० रुपियाँ र पशुधन क्षतिबापत छ जना पीडितलाई ५५ हजार रुपियाँ भुक्तानी गर्न बाँकी छ । भुक्तानीका लागि आवश्यक प्रक्रिया पूरा गरी बाँकी राहत रकमसमेत सम्बन्धित पीडितलाई उपलब्ध गराइने वन अधिकृत ठाकुरले जानकारी दिनुभयो ।










Discussion about this post