असोज १८, सोलुखुम्बु । देशकै सबैभन्दा धेरै विमानस्थल रहेको जिल्लाका रूपमा परिचित सोलुखुम्बुमा हाल दुई वटा विमानस्थल मात्रै प्रत्यक्ष रूपमा सञ्चालनमा छन् । जिल्लामा निर्माण गरिएका चार विमानस्थलमध्ये तेन्जिङ–हिलारी (लुक्ला) र फाप्लु विमानस्थल सञ्चालनमा रहे पनि काँगेलडाँडा र स्याङ्बोचे विमानस्थल लामो समयदेखि सञ्चालनविहीन छन् ।
पर्यटन, आर्थिक तथा सामाजिक गतिविधिलाई सहज बनाउने उद्देश्यसँगै विभिन्न समयका माग तथा आवश्यकताअनुसार निर्माण गरिएका विमानस्थल नियमित सञ्चालनमा आउन नसक्दा करोडौँ रुपैयाँ लगानी गरेर बनाइएका राज्यका संरचना प्रयोगविहीन बन्दै गएका छन् । सञ्चालनविहीन विमानस्थलका धावनमार्ग तथा आसपासका क्षेत्र अहिले गौचरन र खेलमैदानमा परिणत हुँदै गएका छन् । जिल्लाको सबैभन्दा व्यस्त विमानस्थलका रूपमा रहेको तेन्जिङ–हिलारी विमानस्थल (लुक्ला) बाट पर्यटकीय मौसममा दैनिक उल्लेखनीय संख्यामा उडान हुने गरेको छ । विशेषगरी सगरमाथा क्षेत्र जाने विदेशी तथा स्वदेशी पर्यटकका कारण लुक्ला विमानस्थल नेपालकै व्यस्त विमानस्थलमध्ये एक हो । यद्यपि २ हजार ८ सय ४३ मिटरको उचाइमा रहेको यसको छोटो (५२७ मिटर) र भिरालो धावनमार्गका कारण यसलाई विश्वकै सबैभन्दा चुनौतीपूर्ण विमानस्थलका रूपमा पनि लिइन्छ । यहाँ सन् २०१८ सेप्टेम्बर २६ मा चिनियाँ वाई–१२ ई (थ्१२भ) विमानले ऐतिहासिक परीक्षण उडान गरेको थियो ।
यस्तै, जिल्लाको सोलुदुधकुण्ड नगरपालिकामा अवस्थित तल्लो सोलुका नागरिकका लागि महत्त्वपूर्ण मानिएको फाप्लु विमानस्थल पनि सञ्चालनमा छ । सन् १९७६ अक्टोबर (वि.सं. २०३३) मा स्थापना भएको यो विमानस्थललाई वि.सं. २०७१ मा कालोपत्रे गरिएको थियो । यहाँ नियमित दैनिक उडान नभए पनि नेपाल वायुसेवा निगमले हाल हप्ताको ४ दिन (सोमबार, बुधबार, शुक्रबार र शनिबार) उडान भर्दै आएको छ, जुन मौसम खराबी र प्राविधिक कारणले बेलाबेला प्रभावित हुने गर्दछ ।
थुलुङ दूधकोशी गाउँपालिका–२ मा रहेको काँगेलडाँडा विमानस्थल विगत १० वर्षदेखि पूर्ण रूपमा ठप्प छ । तल्लो सोलु तथा छिमेकी जिल्ला खोटाङ र ओखलढुङ्गाका नागरिकलाई समेत सेवा दिने उद्देश्यले वि.सं. २०५२ सालबाट निर्माण सुरु गरिएको यो विमानस्थल वि.सं. २०५९÷६० तिर सञ्चालनमा आएको थियो । तर, वि.सं. २०७१ सालमा परेको ठूलो चट्याङका कारण विमानस्थलको टावरका सञ्चार उपकरणहरू ध्वस्त भएपछि र नेपाल नागरिक उड्डयन प्राधिकरण को प्रतिवेदन अनुसार यसको प्रारम्भिक इन्जिनियरिङ डिजाइन नै त्रुटिपूर्ण भएकाले २०७२ सालदेखि यहाँ उडान पूर्ण रूपमा बन्द अवस्थामा छ । यद्यपि, २०७७ मङ्सिर ३० मा प्राधिकरणले यहाँ एक पटक परीक्षण उडान गरे पनि व्यावसायिक उडान सुरु हुन सकेन । थुलुङ दूधकोशी गाउँपालिका–२ का वडाध्यक्ष युजन बस्नेतका अनुसार हाल विमानस्थल क्षेत्रमा सुरक्षा प्रयोजनका लागि केही प्रहरी बस्ने बाहेक अन्य कुनै गतिविधि हुने गरेको छैन । पर्याप्त यात्रुको अभाव र सडक सञ्जालको विस्तारका कारण यो विमानस्थल व्यावसायिक रूपमा सञ्चालन गर्न विमान कम्पनीहरू इच्छुक देखिएका छैनन् ।
खुम्बु क्षेत्रमा समुद्र सतहदेखि ३,७८० मिटरको उचाइमा रहेको स्याङ्बोचे विमानस्थल लाई नेपाल नागरिक उड्डयन प्राधिकरणले हाल ‘नट इन अपरेसन’ (सञ्चालनमा नरहेको) को सूचीमा राखेको छ । सन् १९७१ मा होटल एभरेस्ट भ्यूका संस्थापक ताकाशी मियाहाराको पहलमा निर्माण गरिएको यस विमानस्थलमा वि.सं. २०३० जेठ १८ मा पहिलो पटक तत्कालीन शाही नेपाल वायुसेवा निगमको विमानले परीक्षण उडान गरेको थियो । विगतमा पिलाटस पोर्टर जस्ता साना सिङ्गल इन्जिन विमानले चार्टर उडान गर्ने गरे पनि नेपालमा सुरक्षाका कारण सिङ्गल इन्जिन विमानको व्यावसायिक यात्रु उडानमा प्रतिबन्ध लागेपछि यो विमानस्थल पूर्ण रूपमा बन्द भयो । यो क्षेत्र सगरमाथा राष्ट्रिय निकुञ्जभित्र पर्ने भएकाले धावनमार्ग विस्तार (हाल ४०५ मिटर मात्र कच्ची) र पूर्वाधार निर्माण गर्न वातावरणीय कानुनका कारण जग्गा उपलब्ध हुन नसक्दा यसको पुनरुत्थान असम्भव जस्तै बनेको छ । हाल यो विमानस्थल केवल आकस्मिक उद्धार र सामग्री ढुवानीका लागि हेलिकप्टर ल्याण्डिङ प्याडका रूपमा मात्र सीमित छ ।
सोलुखुम्बुमा विमानस्थलहरू सञ्चालन नहुनुमा भौगोलिक विकटता, तीव्र हावा चल्ने प्रतिकूल मौसम, नेपाल वायुसेवा निगमसँग दुर्गममा उड्ने पर्याप्त विमानको अभाव, र सडक यातायातको पहुँच पुगेसँगै यात्रुको अभाव मुख्य कारण मानिएका छन् ।
पर्यटकीय गतिविधिका हिसाबले अत्यन्त महत्त्वपूर्ण जिल्ला भए पनि हवाई पूर्वाधार निर्माण र त्यसको उपयोगबीच ठूलो खाडल देखिएको छ । करोडौँ रुपैयाँ खर्च गरेर निर्माण गरिएका विमानस्थल नियमित सञ्चालनमा आउन नसक्दा स्थानीयस्तरमा हवाई पहुँच विस्तार गर्ने राज्यको उद्देश्य अधुरो बनेको छ । सरोकारवालाले सञ्चालन सम्भावना भएका विमानस्थलको प्राविधिक अवस्था सुधार गरी, निजी हवाई कम्पनीहरूसँगको समन्वयमा निश्चित उडान तालिका र यात्रुको सुनिश्चितताका लागि स्पष्ट राष्ट्रिय नीति बनाउनुपर्नेमा जोड दिएका छन् ।











Discussion about this post