बैशाख २९, सोलुखुम्बु । वसन्त ऋतुको सगरमाथा आरोहण सिजनमा प्रतिकूल मौसमले बाधा पु¥याएको छ । तीव्र हावाहुरी र खराब मौसमका कारण आज (मे १२) मा सगरमाथासहित कञ्चनजङ्घा, मकालु जस्ता हिमालहरूको आरोहण प्रभावित भएको हो । पर्यटन विभागका अनुसार सगरमाथामा तीव्र गतिको हावा चलिरहेका कारण धेरै आरोहीहरू आधार शिविरमा फर्किएका छन् भने केही आरोहीहरू दोस्रो र तेस्रो शिविरमा सुरक्षित रूपमा अनुकूल मौसमको प्रतिक्षामा छन् ।
विभागका निर्देशक हिमाल गौतमले सगरमाथाको खराब मौसमका कारण आजको आरोहण हुन नसकेको जानकारी दिनुभयो । सगरमाथाको आधार शिविरमा रहेको विभागको अस्थायी फिल्ड कार्यालयका प्रतिनिधि पासाङ भोटेका अनुसार मे १५ को लागि तय गरिएको आरोहण योजना रद्द गरिएको छ र मे १४ को योजना पनि रद्द हुने सम्भावना छ । मौसम अझै केही दिन असहज रहने पूर्वानुमान गरिएको छ, जसका कारण मे १६ र १७ तारिखमा हिमपातको सम्भावना रहेको बताइएको छ । मौसमले साथ दिए मे १८ देखि पुनः आरोहण सुरू हुने विभागको भनाइ छ । यद्यपि मौसम खराब हुनु अघि केही आरोहीहरू सगरमाथाको शिखर चुम्न सफल भएका छन् ।
यस सिजनमा सगरमाथासहित २६ हिमाल आरोहणका लागि १ हजार १ सय २७ जना आरोहीले अनुमति लिएका छन्, जसमा सबैभन्दा बढी ४५ आरोहण समूहका ४ सय ५६ जना सगरमाथा चढ्ने तयारीमा छन्। हालसम्म चार समूहका केही सदस्य मात्र शिखरसम्म पुगेका छन् भने अधिकांश आरोहीहरू आधार शिविरमा प्रतिक्षारत छन् । मौसम सुधार भएसँगै पुनः आरोहण सुरू हुने अपेक्षा गरिएको छ ।
Discussion about this post