बैशाख २९, साेलुखुम्बु । सोलुखुम्बुमा २५ सय ५९ औँ बुद्ध जयन्ती भव्यताका साथ मनाइएको छ । नेपाल तामाङ घेदुङ जिल्ला कार्य समिति सोलुखुम्बुको आयोजनामा जिल्ला सदरमुकाम सल्लेरीमा बुद्ध जयन्ती भव्यताका साथ मनाइएको हो । सोलुदुधकुण्ड नगरपालिकाका नगरप्रमुख नाम्गेल जाङ्बु शेर्पाको प्रमुख आतिथ्यतामा सदरमुकाम नजिकै रहेको थेक्छेन पेमा छोलीङ गुम्बामा बुद्ध जयन्ती समारोहको आयोजना गरिएको थियो । जिल्लाका विभिन्न स्थानबाट आएका बौद्धमार्गीहरू सम्मीलित प्रभातफेरी मार्फत जिल्ला सदरमुकाम परिक्रमा गरि गुम्बामा फर्केर औपचारिक कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा गुम्बाका लामा पेमा धार्चेन रिम्पोछे सहित नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपती नारदमणि हार्तम्छाली, जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रमुख द्वारीका प्रसाद घिमिरे, नगरपालिका स्थित विभिन्न वडाका अध्यक्षहरू लगायत बौद्धमार्गी जातीय संस्थाका प्रमुख एवं प्रतिनिधहरुको उपस्थीति रहेको थियो । कार्यक्रममा बोल्ने क्रममा नगरप्रमुख शेर्पाले बुद्ध जयन्तीको शुभकामना व्यक्त गर्दै उहाँले जन्मदै बौद्ध धर्मावलम्बी भएपनि बौद्धमार्गी बन्न जरुरी रहेको उल्लेख गर्नुभयो । उहाँले बुद्धको शिक्षालाई जीवनमा कार्यान्वयन गर्न सके मात्रै बौद्धमार्गी भएको सावित हुने उल्लेख गर्नुभयो ।
वक्ताहरूले बुद्धले शान्ति र आत्मियताको बाटो सिकाइएकाले सोही बाटोमा हिड्न सबैलाई आग्रह गरेका थिए । यस्तै नगरपालिकाका उपमेयर गान्धीमाया तामाङले पनि आफ्नो संस्कार संस्कृति र धर्म जोगाइराख्न जरुरी रहेकामा जोड दिनुभयो । उहाँले नगरपालिकाले धर्म संस्कार संस्कार संस्कृतिलाई जोगाउन नीति तथा कार्यक्रममै समावेश गरेको उल्लेख गर्नुभयो ।
कार्यक्रममा सोलुदुधकुण्ड नगरपालिकाका प्रवक्ता एवं वडा नम्बर ६ का अध्यक्ष फुर्वा ग्याल्जेन शेर्पाले नगरपालिकाको भेषभुष, भाष धर्म, संस्कार संस्कृति लगायतको संरक्षणका लागी काम गरेको बताउनुभयो । उहाँले शेर्पाले मात्रै मनाउँदै आएको बुद्ध जयन्ती अहिले ४ वटा समुदायले अपनाएको भन्दै खुसी व्यक्त गर्नुभयो ।
यस्तै कार्यक्रममा बोल्दै नेपाल तामाङ घेदुङकी केन्द्रिय सदस्य शारादा माया तामाङले प्रत्येक जातजातीको भाषाधर्म संस्कृति जोगाउन आवश्यक रहेको उल्लेख गर्नुभयो । उहाँले बौद्धधर्मावलम्बीको संस्कार संस्कृति संरक्षणका लागी नगरपालिकाले गरेको सहयोगले धर्मवलम्बीहरुको मनोवल उच्च भएको उल्लेख गर्नुभयो ।
कार्यक्रममा धर्मगुरु ईश्वर श्रेष्ठले बुद्धको दिव्योपदेशलाई अँगाल्दै उहाँकै पाइलामा हिड्नसके जीवन सफल हुने उल्लेख गर्नुभयो ।
कार्यक्रममा बौद्धधर्मावलम्बीको बाक्लो उपस्थिति थियो । उनीहरूले गुम्बामा स्थापना गरिएको बुद्धको मूर्तिमा खादामाला चढाएर भगवान बुद्धको सम्झना गरैका थिए ।
Discussion about this post