जेठ १, सोलुखुम्बु । कोशी प्रदेश खेलकुद विकास बोर्ड सोलुखुम्बुमा अन्तरकृया कार्यक्रम सम्पन्न गरेको छ । जिल्ला खेलकुद विकास बोर्डको सहजिकरणमा विहीबार जिल्लाको खेलक्षेत्रका समस्या, सम्भावना लगायत विषयमा अन्तरकृया तथा छलफल सम्पन्न गरेको हो । जिल्ला खेलकुद विकास समिति सोलुखुम्बुका सदस्य टङ्कीमाया बस्नेतको अध्यक्षता एवं कोशी प्रदेशका पूर्व सामाजिक विकास मन्त्री बुद्धिकुमार राजभण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न अन्तरकृया कार्यक्रममा जिल्लाको खेल क्षेत्रको समस्या र बेथितिका विषयमा गहन छलफल भएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि पूर्व मन्त्री तथा सोलुखुम्बु प्रदेश निर्वाचन क्षेत्र ख का सांसद राजभण्डारीले जिल्लाको खेलकुद क्षेत्रमा व्यापक समस्या र घोटाला भएको उल्लेख गर्नुभएको थियो । उहाँले स्वास्थ्यका लागी खेलकुद राष्ट्रका लागी खेलकुद पछिलो समय कमाउ धन्दाको रुपमा विकसित भइरहेको भन्दै व्यङ्ग्य गर्नुभएको थियो । उहाँले जिल्लाको खेलकुद क्षेत्र विकास गर्नु छ भने राज्य संयन्त्र सुध्रिन आवश्यक रहेको भन्दै जिल्ला समिति सुध्रिन पर्नेमा जोड दिनुभयो । कार्यक्रममा जिल्ला समन्वय समिति सोलुखुम्बुका प्रमुख कृष्ण प्रसाद निरौलाले खेल क्षेत्र सबैभन्दा पारदर्शी क्षेत्र भएकाले खेल क्षेत्रका मानिस र खेलाडी दुबैको अनुशासन महत्वपूर्ण रहेको उल्लेख गर्नुभएको थियो ।
यस्तै कार्यक्रममा सोलदुधकुण्ड नगरपालिकाका प्रवक्ता फुर्वा ग्याल्जेन शेर्पाले खेलाडी उत्पादनका लागी जिल्लाबाट खेलको विधा थप्नुपर्ने अवस्था आएकाले प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव पर्शुराम बस्नेतलाई खेलकुदको विधा थप्न र बजेट व्यवस्था गर्न ध्यानाकर्षण गराउनुभयो । कार्यक्रममा सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ५ सल्लेरीका अध्यक्ष मिङ्मार तामाङले जिल्ला खेलकुद विकास समिति भित्र ठुलो समस्या भएको भन्दै खेल क्षेत्रको बारेमा कुनै ज्ञान सम्म नभएका व्यक्तीहरुलाई खेलकुद विकास समितिमा राखिएको आरोप लगाउनुभयो । कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रतिनिधि, नेपाली सेनाका प्रतिनिधि, लगायत स्थानीय तहका प्रतिनिधीहरुको उपस्थिति रहेको थियो ।
Discussion about this post