जेठ २, सोलुखुम्बु । खोटाङको जन्तेढुंगा गाउँपालिकालाई ‘पूर्ण खोप सुनिश्चितता गाउँपालिका’ घोषणा गरिएको छ । जन्मेदेखि १५ महिनासम्मका १५३ जना बालबालिकाले सबै खोप लगाएका र १६ महिनादेखि ५० महिनासम्मका ४८७ जना बालबालिकाले सरकारले उपलब्ध गराउने १३ वटा नियमित खोप पूर्ण रुपमा लगाएको सुनिश्चित भएपछि जन्तेढुंगा गाउँपालिका बैशाख ३१ गते औपचारिक रुपमा पूर्ण खोप सुनिश्चितता गाउँपालिका घोषणा गरिएको हो ।
घोषणासँगै जिल्ला खोप समन्वय समिति संयोजक तथा जिल्ला समन्वय समिति प्रमुख सन बहादुर राईले पूर्ण खोप सुनिश्चितता तथा दिगोपनाको प्रमाणपत्र गाउँपालिका अध्यक्ष अरुणादेवी राईलाई हस्तान्तरण गर्नुभयो । गाउँपालिका अध्यक्ष अरुणादेवी राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष खेम बहादुर खड्का, स्वास्थ्य कार्यालय खोटाङका प्रमुख जीवन प्रसाद चौलागाईं लगायत अन्य सरोकारवालाहरूको उपस्थिति रहेको थियो ।
यसअघि, बैशाख १७ गते रावाबेँशी गाउँपालिकालाई पनि पूर्ण खोप सुनिश्चितता गाउँपालिका घोषणा गरिएको थियो । स्थानीय तहमा खोप कार्यक्रमको प्रभावकारिता बढ्दै जाँदा बालबालिकाको स्वास्थ्य सुरक्षामा उल्लेखनीय सुधार आउने अपेक्षा गरिएको छ ।
Discussion about this post