जेठ २, सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका–५ मा अवस्थित ह्वाइट हिल्स बोर्डिङ स्कुलले प्रथम अन्तराष्ट्रिय सागादावा दौड फेस्टिभलमा उत्कृष्ठ प्रदर्शन गर्ने विद्यार्थीहरूलाई सम्मान गरेको छ । थेग्छेन पेमा छोलीङ गुम्बाले आयोजना गरेको म्याराथन दौड प्रतियोगितामा सहभागिता जनाएका विद्यार्थीहरूमध्ये उत्कृष्ट प्रदर्शन गर्ने ३ जना विद्यार्थीलाई विद्यालयले विशेष सम्मानसहित पुरस्कृत गरेको हो ।
विद्यालयका प्रधानाध्यापक सन्तोष सुब्बाका अनुसार ११ किलोमिटर म्याराथनको महिला तर्फको प्रतिस्पर्धामा रायल राई प्रथम स्थान हासिल गर्न सफल भइन् । त्यसैगरी ५ किलोमिटर दौडमा पुरुष तर्फ विकास तामाङ दोस्रो र महिला तर्फ रोनिस्का कार्की पनि दोस्रो स्थानमा रहेका छन् । गुम्बाले प्रथम हुनेलाई नगद २५ हजार रुपैयाँ र द्वितीय हुने दुई जनालाई जनही १०–१० हजार रुपैयाँको चेक हस्तान्तरण गर्दै सम्मानित गरेको जानकारी दिएको छ । प्रतियोगितामा ह्वाइट हिल्स बोर्डिङ स्कुलबाट कुल १२६ जना विद्यार्थीहरू सहभागी थिए ।
आयोजक गुम्बाका अनुसार “गुम्बा देखि गुम्बा सम्म” भन्ने रूट पहिल्याउँदै आयोजना गरिएको म्याराथनको उद्देश्य खेलकुदको माध्यमबाट हिमाली संस्कार र संस्कृतिहरूको प्रवद्र्धन गर्नु रहेको थियो । प्रतियोगितामार्फत विद्यार्थीहरूको शारीरिक विकाससँगै सांस्कृतिक चेतना बढाउन सहयोग पुग्ने विश्वास आयोजक तथा विद्यालय पक्षको रहेको छ ।
Discussion about this post