जेठ ६, सोलुखुम्बु । सोलुखुम्बुको नेचासल्यान गाउँपालिका पूर्ण खोप सुनिश्चित पालिकाको रूपमा घोषणा गरिएको छ । मंगलबार एक औपचारिक कार्यक्रमका बीच गाउँपालिकामा रहेका सम्पूर्ण लक्षित बालबालिकालाई आवश्यक सबै खोप दिइसकेपछि यस पालिकालाई पूर्ण खोप सुनिश्चित पालिका २०८१ घोषणा गरिएको हो ।
गाउँपालिकाका पाँचै वडामा १६ महिना देखि ५९ महिनासम्मका बाँकी रहेका ४४५ जना बालबालिकालाई खोप लगाइसकेपछि यो उपलब्धि हासिल गरिएको स्वास्थ्य शाखाका संयोजक केशव बास्तोलाले बताउनुभयो ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष तथा पालिका खोप समन्वय समितिका संयोजक धनजन राईले स्वास्थ्यकर्मीहरूको अथक मेहनत र सक्रियताका कारण यो उपलब्धि सम्भव भएको बताउनुभयो । उहाँले वडास्तरबाट पालिकास्तरमा समन्वय गरी सञ्चालन गरिएको खोप कार्यक्रमले सकारात्मक परिणाम ल्याएको उल्लेख गर्नुभयो ।
यस्तै गाउँपालिकाकी उपाध्यक्ष विना राईले स्वास्थ्य क्षेत्रलाई संवेदनशील क्षेत्रको रूपमा हेरेर निरन्तर खटिएका सम्पूर्ण कर्मचारी, स्वास्थ्यकर्मी, स्वयंसेवक तथा सम्बन्धित निकायलाई धन्यवाद व्यक्त गर्नुभयो । सोहि कार्यक्रमको अवसरमा प्रत्येक वडाका आधारभूत स्वास्थ्य संस्था र नेचाबेतघारी स्वास्थ्य चौकी, प्राथमिक स्वाथ्य केन्द्र दोदीलाई धन्यवाद र कदर पत्रद्धारा सम्मान गरिएको छ ।
Discussion about this post